पोखरा । गण्डकी प्रदेश सरकारले मंगलबार तेस्रो वार्षिकोत्सव मनाएको छ । तीन वर्ष अघि प्रदेश ४ को पहिलो मन्त्रिपरिषदको बैठकले दुई वर्षभित्र उज्यालो प्रदेश बनाउने र सबै घरधुरीमा आधारभूत खानेपानी पुर्याउने निर्णय गरेको थियो ।
मन्त्रिपरिषदको पहिलो बैठकले ५ वर्षभित्र पोखरामा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र निर्माण, अत्याधुनिक क्यान्सर, मुटु र मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्नेसहित महत्वपूर्ण ५ वटा निर्णय गरेको थियो ।
तर, घोषणा गरेको तीन बर्ष बितिसक्दा पनि प्रदेश सरकारले सबै घरमा उज्यालो र खानेपानी पु¥याउन सकेको छैन । पहिलो बैठकले गरेको निर्णय नै अहिले प्रदेश सरकारलाई गलपासो सावित भएको छ ।
तीन वर्षसम्म पनि उक्त प्रतिबद्धता पूरा हुन नसकेको अवस्थामा प्रदेश सरकारले यो लक्ष्य आउँदो वर्ष पूरा हुने जनाएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म गण्डकीमा खानेपानीका २४३ परियोजना सम्पन्न हुने र ७५ हजार ५६२ घरमा धारा जोडिने सरकारको दावी छ ।
लक्ष्य पूरा गर्न १२६ परियोजना संचालनमा रहेको भन्दै प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा। गिरिधारी शर्मा त्यसपछि थप डेढ लाख जनताले आधारभूत खानेपानी पाउने बताउँछन् ।
प्रदेश सरकार गठन भएको वर्ष गण्डकीमा ८२ प्रतिशत घरमा बिजुली पुगेको थियो । पछिल्लो ३ वर्षमा यो संख्या बढेर ८७ प्रतिशत पुगेको छ । दुई वर्षभित्रै शत प्रतिशत घरमा बिजुली पु¥याउने र उज्यालो प्रदेश घोषणा गर्ने सरकारको लक्ष्य थियो ।
तर, तीन वर्षसम्म पनि प्रदेश सरकारको पहिलो निर्णय नै पूरा हुन सकेन । हालसम्म प्रसारण लाइनमा नजोडिएका गोरखा, म्याग्दी, मनाङ र मुस्ताङका ११ सय घरधुरीमा सौर्यबत्ती जडान गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
बिग्रिएका लघुजलविद्युत् मर्मत गरेर थप १२ हजार ७ सय धुरीमा बिजुली बालिएको तथ्यांकमा उल्लेख छ । सरकारले करिब ३० हजार काठेपोल हटाएर स्टिल पोल राखेको दावी गरेको छ ।
गण्डकी प्रदेशमा तनहुँ, गोरखा र नवलपुरबाहेक सवै जिल्लामा विद्युत विस्तार भइसकेको जनाइएको छ । प्रदेश सरकारले घोषणा गरेको अत्याधुनिक सुविधा सम्पन्न क्यान्सर, मुटुरोग तथा मिर्गौलाको उपचार केन्द्र स्थापना गर्ने, अन्तर्राष्ट्रियस्तरको बहुउपयोगी खेल मैदान बनाउने र सुविधा सम्पन्न सम्मेलन केन्द्र निर्माण गर्ने योजना सुरु नै भएको छैन ।
जग्गाको स्वामित्व हस्तान्तरणको प्रक्रियाका कारण ती योजना अगाडि बढ्न नसकेको सरकारले जनाएको छ । प्रदेश मन्त्रिपरिषदको पहिलो बैठकले घोषणा गरेका ती योजना अगाडि बढाउन आवश्यक प्रक्रिया सुरु भएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्वा गुरुङ बताउँछन् ।
सरकारको ३ वर्षे उपलब्धिस् ५५ हजार घरमा धारा, १३७ किमि सडक कालोपत्रे
गण्डकी प्रदेश सरकारले आफ्ना ३ बर्षे उपलब्धिमा प्रदेश राजधानी ‘पोखरा’ र प्रदेशको नाम ‘गण्डकी’ जुराउनुलाई मुख्य सफलता ठानेको छ । त्यसैगरी सरकारले प्रदेशका विभिन्न ग्रामीण बस्तीका ५५ हजार घरमा खानेपानीका धारा पुर्याएको छ र १ सय ३७ किमी कालोपत्रे सडक निर्माणलाई समेत मुख्य उपलब्धि मानेको छ ।
सरकारले पालिकाको केन्द्रलाई प्रदेश सदरमुकामसँग जोड्न रणनीतिक सडक बनिरहेको समेत दावी गरेको छ । प्रदेशको मनाङको नार्पाभूमि र गोरखाको चुमनुब्री गाउँपालिका वाहेकसबै ८३ पालिकाको केन्द्रमा सडक पुगिसकेको दावी गरेको छ ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत ३ वर्षे अवधिमा १३७ किमि सडक कालोपत्रे, २९२ किमि ग्राभेल गरिएको बताए । उनले प्रदेशमा ५५ हजार ६० घरमा निजी धारा जडान गरिएको जानकारी दिए ।
उनका अनुसार संघ सरकारको समेत सहयोगमा ७१ सडक पुल, १० झोलुंगे पुल बनिसकेको र ५६ वटा निर्माणाधीन छ ।