काठमाडौं । श्रीलंकाका ब्याटर थनुका दबारे नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् ।
शीर्ष क्रमका ब्याटर दबारेले श्रीलंकाका विभिन्न घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो क्षमता प्रदर्शन गर्दै आएका छन् । उनले प्रथम श्रेणी, लिस्ट ए र टी–२० गरी तीनवटै प्रारूपमा क्रिकेट खेलेका छन् ।
दबारेले ५० टी–२० खेलमा ९२३ रन बनाएका छन् । यस क्रममा उनले एक शतक र पाँच अर्धशतक प्रहार गरेका छन् । टी–२० मा उनको स्ट्राइक रेट १४२.६५ रहेको छ । उनले यस प्रारूपमा ४७ छक्का र ८६ चौका प्रहार गर्नुका साथै २६ विकेट पनि लिएका छन् ।
त्यस्तै, ६७ लिस्ट ए खेलमा उनले एक हजार ६७८ रन बनाएका छन् । यस क्रममा एक शतक र नौ अर्धशतक प्रहार गरेका दबारेले ६३ विकेटसमेत लिएका छन् ।
यसैगरी, ४९ प्रथम श्रेणी खेलमा उनले दुई हजार २७५ रन बनाउनुका साथै ११ विकेट लिएका छन् ।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले दबारेको आगमनले टोलीको शीर्ष क्रमको ब्याटिङ थप बलियो हुने विश्वास व्यक्त गरे ।
‘थनुका दबारेसँग अनुभव छ । उनी आक्रामक ब्याटिङ गर्न सक्ने खेलाडी हुन् । उनको आगमनले हाम्रो शीर्ष क्रमलाई थप बलियो बनाउने र टोलीको ब्याटिङमा गहिराइ थप्ने विश्वास लिएका छौँ,’ खड्काले भने ।
टोलीमा अनुबन्ध भएपछि दबारेले सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्न आफू उत्साहित रहेको बताए ।
‘सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउँदा खुसी छु । एनपीएल खेल्न नेपाल आउन र टोलीका लागि योगदान दिन उत्साहित छु । प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै टोलीलाई उपाधि जिताउन सहयोग गर्ने लक्ष्य छ,’ उनले भने ।