बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

४१ वर्षपछि आमासँग भेटिए चिलीमा खोसिएका दुई दाजुभाइ 

बिहिबार, कार्तिक २६ २०८३

काठमाडौं । चिलीमा अगस्टो पिनोचेको सैनिक शासनकालमा अस्पतालबाटै आमाबाट छुट्याएर अवैध रूपमा अमेरिकी परिवारलाई सुम्पिएका दुई दाजुभाइले ४१ वर्षपछि आफ्नी जैविक आमासँग पुनर्मिलन गरेका छन् ।

लामो समयदेखि सन्तान वियोगको पीडा सहँदै आएकी ६६ वर्षीया टेरेसिटा डे जेसस पादिलाले अन्ततः आफ्ना छोराहरूलाई भेटेर अँगालो हाल्न पाएकी हुन् ।

४१ वर्षीय टिम रोलनिक र ३७ वर्षीय ट्राभिस मर्डोक अमेरिकामा हुर्किएका थिए । उनीहरूलाई अर्को परिवारले हुर्काएको जानकारी भए पनि जन्म दिने आमाबाट कसरी छुट्याइयो भन्नेबारे भने थाहा थिएन ।

रोलनिकले सन् २०२० मा डीएनए परीक्षण गरेपछि आफ्नो जैविक परिवार चिलीमा रहेको पत्ता लगाए । त्यसपछि आफन्त तथा छुट्याइएका परिवारको पुनर्मिलनमा काम गर्ने संस्थाहरूको सहयोगमा उनका दुई भाइ पनि अमेरिकामै रहेको जानकारी पाए ।

उनका जुम्ल्याहा भाइ ट्राभिस र क्रिसलाई समेत चार वर्षको उमेरपछि आमाबाट अलग गरेर अमेरिकी दम्पतीको जिम्मा लगाइएको रहेछ ।

तीनै दाजुभाइबीच सम्पर्क भएपछि उनीहरूबीच घनिष्ठ सम्बन्ध स्थापित भयो । पहिलो सम्पर्क भएको छ वर्षपछि रोलनिक र ट्राभिस चिली पुगेर आमासँग भेट्न सफल भए । सन् २०१३ मा भएको सडक दुर्घटनामा गम्भीर घाइते भएका अर्का भाइ क्रिस भने स्वास्थ्य अवस्थाका कारण चिली जान सकेनन् ।

चिलीको न्यायिक प्रतिवेदनअनुसार अगस्टो पिनोचेको १७ वर्षे सैनिक शासनकालमा जबर्जस्ती वा आपराधिक तरिकाले बालबालिकालाई अन्य परिवारको जिम्मा लगाइएका करिब २० हजार घटना भएका थिए । नागरिक संस्था ‘नोस बुस्कामोस’ का अनुसार यसबाट प्रभावित परिवारको सङ्ख्या ५० हजारभन्दा बढी हुन सक्ने अनुमान छ ।

संस्थाकी निर्देशक कन्स्टान्जा डेल रियोका अनुसार गरिब तथा विपन्न महिलाहरू यस्तो अवैध सञ्जालको मुख्य निशानामा पर्ने गरेका थिए । यसमा सामाजिक कार्यकर्ता, चिकित्सक, न्यायाधीश र वकिलसमेत संलग्न रहेको उनले बताएका छन् ।

पिनोचेको शासनकालमा कम्तीमा तीन हजार ९५ जनाको हत्या वा जबर्जस्ती बेपत्ता पारिएको थियो । त्यस्तै, दशौँ हजार मानिसलाई राजनीतिक कारणले यातना दिइएको वा जेलमा राखिएको थियो ।

पादिला बाल्यकालदेखि नै गरिबीसँग सङ्घर्ष गर्दै आएकी थिइन् । गर्भवती भएपछि अस्पतालले आफ्ना सन्तानको राम्रो भविष्य बनाउन सहयोग गर्ने विश्वास गरेकी थिइन् । तर अस्पतालमै उनका सन्तान खोसिएपछि उनले जीवनभर सन्तान वियोगको पीडा सहनुपर्‍यो ।

‘धम्की र त्रास देखाएर मेरा सन्तान मबाट खोसिए । त्यसको पीडा मैले जीवनभर भोग्नुपर्‍यो’, उनले भनिन् ।

४१ वर्षपछि छोराहरूसँगको पुनर्मिलनले आफूले सधैँका लागि गुमाएको ठानेका सन्तान फिर्ता पाएको अनुभूति भएको पादिलाले बताइन् ।

ट्राभिसले पनि विगतको पीडामा अल्झिनुभन्दा अब परिवारसँग नयाँ सम्झना बनाउँदै भविष्यतर्फ अघि बढ्न चाहेको बताएका छन् ।

(एपी)