काठमाडौं । लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो बगेर सडकमा थुप्रिनुका साथै पहिरो खस्दा काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नम्बर ८ गिम्दीबेँसीस्थित बीपी राजमार्गमा खहरेखोलाबाट ढुङ्गामाटोसहितको लेदो बगेर सडकमा थुप्रिएको छ। त्यसका कारण उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यस्तै, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ लाकुरीडाँडास्थित मध्यपहाडी लोकमार्गमा वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खसेको छ। पहिरोका कारण करिब १५ मिटर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
ललितपुर महानगरपालिका–२ सुन्दरीघाटस्थित बागमती खोला करिडोरको सडकमा समेत जलसतह बढेका कारण आवागमन अवरुद्ध भएको छ।
त्यसैगरी, ललितपुरकै बागमती गाउँपालिका–३ पाङ्दुर र टार्कुचेस्थित कान्ति लोकपथमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।