आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिले सरकारको गैरजिम्मेवारी देखायो : कांग्रेस

बुधबार, साउन १३ २०८३

काठमाडौं । सुनसरीमा विकसित पछिल्लो घटनाक्रमबारे आयोजित सर्वदलीय बैठकमा नेपाली कांग्रेसले सरकारको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेको छ। कांग्रेसले संवेदनशील परिस्थितिमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिलाई सरकारको गैरजिम्मेवारीको उदाहरणका रूपमा टिप्पणी गरेको छ।

बुधबार सम्पन्न बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरी घटनाप्रति सरकारले उदासीनता देखाएको आरोप लगाए। उनले सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको अनुपस्थितिमाथि प्रश्न उठाउँदै यसले सरकारको संवेदनशीलता र उत्तरदायित्वमाथि प्रश्न खडा गरेको बताए।

आङ्देम्बेले राष्ट्रपति र प्रधानमन्त्रीबीच आवश्यक संवाद तथा समन्वयको अभावले राज्य सञ्चालनमा समेत गम्भीर कमजोरी देखिएको टिप्पणी गरे। राष्ट्रिय महत्वका यस्ता विषयमा सम्बन्धित निकाय र सरोकारवालासँग समन्वय गरेर समाधान खोज्नुपर्नेमा सरकार त्यसतर्फ अग्रसर हुन नसकेको उनको आरोप थियो।

उनले भने, “यस्तो गम्भीर र संवेदनशील विषयमा बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिले सरकार कति गैरजिम्मेवार छ भन्ने स्पष्ट हुन्छ। सरकार सामाजिक सञ्जालको ‘स्टाटस’मा मात्र सीमित देखियो, कार्यथलोमा उसको उपस्थिति शून्य छ। अब हामी तराई–मधेसका सामाजिक समूह, धार्मिक अगुवा र सरोकारवालासँग प्रत्यक्ष संवाद अघि बढाउँछौँ। सामाजिक सद्भाव कायम राख्न राजनीतिक वृत्तबाहिरका पक्षसँग पनि सहकार्य आवश्यक छ।”

आङ्देम्बेका अनुसार बैठकमा सहभागी सबै राजनीतिक दलले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति कायम राख्न संयुक्त पहल गर्ने सहमति गरेका छन्। राज्यको मात्रै प्रतीक्षा नगरी राजनीतिक दलहरू स्वयं प्रभावित क्षेत्रमा पुगेर शान्ति र सद्भाव कायम गर्न जनस्तरमा अपिल गर्ने निर्णयसमेत बैठकले गरेको उहाँले जानकारी दिए ।