काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरीको देवानगञ्जमा विकसित घटनाक्रम तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ।
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा बुधबार बिहान ८ बजेदेखि बैठक प्रारम्भ भएको हो। बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने क्रम जारी रहेको छ।
बैठकमा पुष्पकमल दाहाल, नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल तथा जनमत पार्टीका अध्यक्ष सीके राउतलगायतका नेताहरू सहभागी भइसकेका छन्।
रास्वपाले संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वको जनमत पार्टीलाई पनि बैठकमा आमन्त्रण गरेको जनाएको छ।
बैठकमा सुनसरीको पछिल्लो सुरक्षा अवस्था, सामाजिक सद्भाव कायम गर्ने उपाय तथा समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।