काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) वित्तीय प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँको निक्षेप खिच्ने भएको छ। हाल कुल निक्षेप ७४ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ।
केन्द्रिय बैंकले वित्तीय प्रणालीमा अत्यधिक तरलता र ब्याजदरको व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधाको माध्यमबाट नियमित रूपमा तरलता खिच्दै आएको छ। यस प्रक्रियामा बोलकबोलमार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
दीर्घकालीन निक्षेप संकलनमा काउण्टर पार्टीहरूले प्रस्तुत गरेको ब्याजदर अनुसार प्राथमिकताका आधारमा रकम बाँडफाँट गरिनेछ। बोलकबोल अनलाइन खरिद प्रणालीमार्फत सञ्चालन हुनेछ र ब्याजदर पनि सोही प्रक्रियामा निर्धारण हुनेछ। निक्षेप रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँसम्म बोलाउन सकिने व्यवस्था छ।
नेपाल राष्ट्र बैंकका अनुसार, खुला बजार कारोबार कार्यविधिअनुसार अधिक तरलता भएको अवस्थामा बजार ब्याजदर सन्तुलनका लागि अधिकतम ६ महिनाको अवधिका दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिने व्यवस्था छ। यही आधारमा केन्द्रिय बैंकले समय–समयमा बजारमा तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।