काठमाडौं असार, १७–
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ राधेराधे बस्ने सिन्धुपाल्चोक बाह्रविसे घर भएका २५ वर्षीय दिपेश थापा समेत तीन जनालाई डाईजेल्याप एक सय ४० एम्पुल, फेनारगन एक सय ४० एम्पुल र नुर्फिन एक सय ४० एम्पुल सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरीले उक्त स्थानमा रहेको थकाली भान्साघरबाट उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी बाँकेको नेपालगन्ज उपमहानगरपालिका १५ स्थितबाट बैजनाथ गाउँपालिका ३ सुतैया बस्ने २३ वर्षीय प्रकाश मल्ललाई अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारत तर्फबाट आउँदै गरेका मल्ललाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।