आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

ससुरालीका चार जनाको हत्या गर्ने राजेन्द्र पनि शक्त घाइते

आइतबार, असार २२ २०८२

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा आइतबार राति एकै परिवारका चार जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार यो वीभत्स हत्यामा संलग्न रहेको आरोपमा राजेन्द्र राईलाई पक्राउ गरिएको छ ।

गएराति भोजपुर नगरपालिका–२ हेलाउँछ का ३० वर्षीय राजेन्द्र राईले आफ्नै ससुरालीमा गएर पत्नीसहित उनका माइती पक्षका चार जनाको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार राजेन्द्रले आफ्नी १६ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र १० वर्षीय साला सपन गिरीको हत्या गरेका हुन्।

राजेन्द्र केही दिन माइतीघरमा रहेकी श्रीमतीलाई लिन ससुराली गएका थिए। तर त्यहाँ मनिषालाई लिएर विवाद भएको प्रहरीको भनाइ छ। प्रारम्भिक बयानमा राजेन्द्रले सासू मञ्जु गिरीले छुरा प्रहार गरेपछि आफू आक्रोशित भइ यस्तो कदम उठाएको बताएका छन्।

उनले राति सुतिरहेको बेला सासूले आफूमाथि आक्रमण गरेको र ब्युँझिँदा हातमा छुरी देखेपछि त्यही छुरी खोसेर सबैलाई मारेको प्रारम्भिक बयान दिएका छन् ।

राजेन्द्रले एक वर्षअघि मात्रै १४ वर्षीया किशोरीलाई भगाएर विवाह गरेका थिए । तर, शारीरिक तथा मानसिक यातनाको कारण उनी घरमा बस्न सक्ने स्थिती नभएपछि माइती आएर बसेकी थिइन् ।

प्रहरीले घटनापछि गम्भीर घाइते अवस्थामा रहेका राजेन्द्रलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याएको थियो। उनको पेटमा छुरा लागेका तीन वटा गम्भीर घाउ छन्। अवस्था गम्भीर भएकाले उनलाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ।

घटनाबारे जानकारी पाउनेबित्तिकै ईलाका प्रहरी कार्यालय बोयाङ र जिल्ला प्रहरी कार्यालय भोजपुरबाट टोली घटनास्थलमा पुगेको थियो। अहिले घटनाको गम्भीरताका साथ अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

यस घटनाले स्थानीय स्तरमा गहिरो सन्त्रास र शोकको वातावरण सिर्जना गरेको छ। विवादको वास्तविक कारण, हत्या योजनाबद्ध थियो वा आक्रोशजन्य क्षणिक प्रतिक्रिया, भन्ने विषयमा अझै स्पष्ट अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।