आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो : प्रधानमन्त्री

शनिबार, असार १४ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसकेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीले पछिल्लो समय सामाजिक सञ्जालमा आलोचकहरूलाई प्रतिवाद गर्ने गायिका समिक्षा अधिकारी र एलिना चौहानको भण्डाफोर अभियानलाई समर्थन गर्दै यस्तो बताएका हुन् ।

एलिना–समीक्षाको ‘भण्डाफोर अभियान’को तारिफ गर्दै प्रधानमन्त्रीले दुवैलाई साहसी छोरीहरु भनेर सम्बोधन गरेका छन् ।

समीक्षा र एलिनाले आफ्नो आत्मसम्मानमा ठेस पुर्याउने तथा अभद्र र छुद्र शब्दहरू प्रयोग गरेर कमेन्ट गर्ने प्रयोगकर्ताको कमेन्ट र फोटो आफ्नो सञ्जालमा सार्वजनिक गर्ने तरिका सही लागेका उनले बताएका छन् ।

उनले समाजमा बढ्दो गाली प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेका छन्। आफू राम्रो देखिन अरूको दोष देखाएर गाली गर्ने, सधैं विरोध र सराप गर्ने परपीडक मानसिकता समाजका लागि खतरनाक भएको ओलीको भनाइ छ।

‘आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ।’ उनले लेखेका छन्,‘ समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डोर्‍याउन नदिन र विवेकतर्फ फर्काउन ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो। समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो। राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन।’
प्रधानमन्त्री ओलीले समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसकेको भन्दै राम्रो गर्न खोज्नेले हिम्मत नहार्न पनि सुझाएका छन्।