काठमाडौं । बलात्कार आरोपमा नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) का एक नेता पक्राउ परेका छन्।
रूकुम पश्चिमका ३० वर्षीय रेशम खत्री क्षेत्रीलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको हो। क्षेत्री वाइसिएलका कर्णाली प्रदेश कमिटी सदस्य तथा चौरजहारी नगर कमिटी ईन्चार्ज हुन्।
उनीमाथि जाजरकोटकी एक १७ वर्षीया किशोरी बलात्कार गरेको आरोप छ । उनलाई रूकुम पश्चिम सानोभेरी गाउँपालिकामा रहेको एउटा होटलबाट पक्राउ गरिएको थियो।
वाइसीएल नेता रेशमले २०७९ चैतमा चौरजहारीको एक होटलमा लगेर ती युवतीलाई बलात्कार गरेको जाहेरीमा उल्लेख छ। बलात्कार गर्दा गर्भ बसेर छोरीको जन्म भएको समेत बताइएकाे छ ।
किशोरीले आफूमाथि क्षेत्रीले जबरजस्ती करणी गरेको भन्दै कार्यालयमा दुई महिनाअघि जाहेरी दिएकी थिइन्।
मुलुकी अपराध संहिताको दफा २१९ ले कसैले कुनै महिलालाई मञ्जुरीबिना वा १८ वर्ष भन्दा कम उमेरका बालिकालाई मञ्जुरी लिएर भए पनि गरिएको करणीलाई जबरजस्ती करणी मानेको छ।
पक्राउ परेका क्षेत्रीलाई शुक्रबार अदालतबाट म्याद थपका लागि लैजाने तयारी प्रहरीको छ।