आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणमा जाँदै

प्रधानमन्त्रीले जुन ३० मा आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने

शुक्रबार, असार १३ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाने भएका छन् ।

उनले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा भाग लिनेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । संयुक्त राष्ट्रसंघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा भाग लिन जान लागेका प्रधानमन्त्री ओलीले आउँदो सोमबार (जुन ३०) आफ्नो स्पेनी समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

त्यस अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ ।

स्पेन संसदीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रात्मक शासन व्यवस्था भएको पश्चिम युरोपेली मुलुक हो । करिब पाँच लाख पाँच हजार ९९० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको स्पेनको जनसङ्ख्या लगभग चार करोड ७४ लाख छ ।