काठमाडौं । नक्सालको बाल मन्दिर जग्गा हिनामिना प्रकरणका एक प्रतिवादी धरौटीमा रिहा भएका छन्।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले सोमबार तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
उनीसहित बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंहसहित १७ जनाविरूद्ध वैशाख २४ गते अदालतमा मुद्दा दायर भएको थियो । सिंह उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदी हुन् ।
बालमन्दिरको जग्गा लिजमा दिँदा अनियमितता गरेको उनीहरूमाथि आरोप छ । नेपाल बाल संगठनलाई हानिनोक्सानी पुर्याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक–पटक न्यून रकममा सम्झौता गरेको उजुरी परेको थियो ।