काठमाडौं। आइतबार नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले रामेछापमा शहरी विकास मन्त्रालयबाट बजेट नपरेको भन्दै संसदमा आक्रोश पोखेको भिडियो यतिबेला भाइरल भएको छ ।
आर्थिक वर्ष २०८२–८३ को लागि रामेछापमा सहरी विकास मन्त्रालय अन्तर्गत पर्याप्त बजेट नपरेको भन्दै उनी आक्रोशित भएका हुन् ।
त्यतिमात्र होइन उनले उपप्रधानमन्त्री प्रकाशमान सिंह र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई ०८४ पछि संसदमा देख्न नपरोस् भनि भगवानसँग प्रार्थना गरेपछि संसद भवनमा हाँसोको फोहोरा नै छुटेको थियो । संसदीय अभ्यासमा यो नौलो घटना थियो । कसैलाई नामै तोकेर यतिसम्मको अमर्यादित अभिव्यक्ति सायदै यसअघि अरु कसैले दिएका थिए । तामाङले रोष्टमबाटै अमर्यादित शब्दका प्रहार गरिरहँदा उपप्रधानमन्त्रीद्वय सिंह र पौडेल भने हाँसिरहेका थिए ।
काठमाडौं बसेर काठमाडौंमै मात्रै योजना हालेको भन्दै उनले प्रकाशमान सिंह देशभरिको नेता बन्न नसकेको आरोप लगाए । पार्टीमा पनि नेता रहेका सिंहले बजेटमा गरेको असमान वितरणको हिसाब किताब पार्टीको १५औं महाधिवेशनमा देखाइदिने उनले चेतावनी पनि दिए ।
‘तपाईं सुध्रिनुस् भनेर भनिदिएको हो । हरेक मान्छेले तपाईंलाई चयाप्दै ल्याएको छ,’ उनले भने, ‘१५औं महाधिवेशनमा तपाईंसँगको कुराको छलफल हुन्छ । हामी पनि महाधिवेशन चुनाव जितेर आउँला नि।’
सहरी विकास मन्त्री र अर्थमन्त्रीले मित लगाए जस्तो योजना साटासाट गरेको उनले टिप्पणी गरे ।
कान्छारामले दलको बैठक नबसेका कारण आफ्नो पीडा संसदबाटै पोखेको बताउँदै उपप्रधान एवं शहरी विकास मन्त्री सिंहविरुद्ध खनिएका थिए ।
तर, शहरी विकास मन्त्रालयले ल्याएको बजेटमा भने उनले भनेको जस्तो बजेटनै नपरेको देखिँदैन। रामेछापमा शहरी विकास मन्त्रालयबाट ६६ योजनाका लागि ८४ करोड ४७ लाख विनियोजन भएको देखिन्छ।
३ करोड वा माथि बजेट भएका कार्यक्रम संख्या ११ छ भने ३ करोड बजेट भएका कार्यक्रम संख्या ८ वटा छ। त्यस्तै ३ करोड भन्दा कम बजेट भएका कार्यक्रम संख्या ५५ वटा छन्।
देशको कूल जनसंख्याको ०.८ प्रतिशत छ। शहरी विकास मन्त्रालयको बजेटको कुल ०.७ प्रतिशत बजेट रामेछापमा परेको छ।
बजेटको मन्त्रालयगत छलफलका बोल्न रोष्ट्रम पुगेका ‘कान्छाराम’ले सुरुमै भने, ‘भौतिकमन्त्री नहुँदासम्म म यो माइक छोड्नेवाला पनि छैन, म कसैलाई बोल्न दिनेवाला पनि छैन ।’
जुन काममा आएको हो त्यो काम हुँदैन भने किन अगाडि बढ्ने भनेर उनी रोष्ट्रममा नबोली उभिइरहे । आफ्नो समय नकाट्न आग्रह गर्दै उनले भौतिकमन्त्रीको उपस्थिति भएपछि मात्रै आफू बोल्ने भनेर पनि आग्रह गरे ।
निर्माण व्यवसायीसमेत रहेका सांसद तामाङ कांग्रेस कोटाबाट यस अघि ऊर्जा राज्यमन्त्री थिए । तर सरकारले गरेका निर्णयविरुद्ध सार्वजनिक विरोध गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङलाई बर्खास्त गरेका थिए। तर सरकारले गरेका निर्णयविरुद्ध सार्वजनिक विरोध गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङलाई बर्खास्त गरेका थिए। यस्तै उनी आफ्नै मन्त्रालयका सचिव सुरेश आचार्यसँग स्पष्टीकरण मागेर पनि चर्चामा आएका थिए।
अराजक अभिव्यक्ति राजनीतिक वृत्तमा चासो
तामाङले दिएको अराजक अभिव्यक्ति राजनीतिक वृत्तमा चासोको विषय बनेको छ। संसदजस्तो गरिमामय थलोमा संयम र मर्यादाको पालन गरिनुपर्छ भन्ने मान्यता विपरीत तामाङले प्रयोग गरेका केही शब्द तथा शैलीले सभामुखदेखि अन्य दलका सांसदसम्मलाई असहज बनायो।
संसदमा उठाइएको विषय सान्दर्भिक भए पनि त्यसलाई प्रस्तुत गर्ने तरिका असभ्य र उत्तेजक रहँदा मूल मुद्दा ओझेलमा पर्न थालेको हो। तामाङले आफ्ना भनाइमा आरोपप्रत्यारोप मात्र होइन, व्यक्तिगत गालीगलौजको शैली अपनाएको आरोप लागेको छ। यसरी भाषा र व्यवहारको मर्यादा नाघ्नु न केवल संसदको गरिमा घटाउने कार्य हो, बरु लोकतान्त्रिक अभ्यासमा समेत नकारात्मक असर पार्न सक्छ।
यस्तो अभिव्यक्तिपछि सभामुखले ध्यानाकर्षण गराउँदै संयमता अपनाउन सुझाव दिएका छन् भने केही सांसदहरूले त्यसको सार्वजनिक माफी माग्नुपर्ने माग समेत गरेका छन्।
लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता महत्वपूर्ण भए पनि त्यसको प्रयोग जिम्मेवारीपूर्वक र मर्यादासहित गर्नुपर्ने अनिवार्यताबाट विमुख हुन मिल्दैन।
सहरी विकास मन्त्रालयबाट रामेछापमा परेको बजेट हेर्नुहोस्