काठमाडौं । सांसद तथा नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले करोडौँ रुपैयाँ बराबरको कारोबार गर्दा रकम नभएको चेक दिएको पुष्टि भएको छ ।
चौधरीले एक ठेकेदारलाई ५ करोड ४० लाख रुपैयाँको चेक काटेको प्रमाण भेटिएको छ । जुन चेक बैंकले बाउन्स गरिदिएपछि उनको बदमासी छताछुल्ल भएको छ। उनले के कारोबारका लागि त्यक्ति ठूलो रकम भएको चेक दिए भन्नेबारे केही खुलेको छैन ।
चौधरीविरूद्ध जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी परेको छ। उनीविरूद्ध रोल्पाका ठेकेदार धात बुढामगरले जाहेरी दिएकाे प्रहरीले जनाएको छ।
मेटमणिले रोल्पाका धात बुढा मगर बुढालाई एभरेष्ट बैँकको चेक २०८१ पुस २६ गते हस्ताक्षर गरेर दिएका थिए । तर चेकमा उल्लेख भए अनुसारकाे खातामा रकम नभएकाे र हस्ताक्षर पनि नमिलेकाे पाइएकाे छ । यता चौधरीका स्वकीय सचिव सुदन खनालले भने चौधरीको चेक हराएको दाबी गरेका छन् ।
दाङ प्रहरीमा यस विषयमा पीडितले उजुरी जाहेर गरे पनि मुद्दा अगाडि बढ्न ढिलो भइरहेको खबर सार्वजनिक भएका छन् । चौधरीविरुद्धको मुद्दालाई कानुनी प्रक्रियाले भन्दा पनि राजनीतिक पहुँच र प्रभावले प्रभावित पारिरहेको गुनासो उठिरहेको छ।
चौधरी गत आम निर्वाचनमा दाङ क्षेत्र १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
आफूलाई सादगी नेताका रुपमा चित्रण गर्ने चौधरी यसअघि पनि आफ्नो अभिव्यक्तिका कारण विवादमा परेका थिए ।
एक टेलिभिजन अन्तर्वार्तामा लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतको दाबी पुग्छ भन्ने अभिव्यक्ति दिएपछि चौधरी विवादमा फसेका थिए। चौधरीले महाकाली सन्धिपछि भारतले कालापानी क्षेत्रमा आफ्नो दाबी गर्न थालेको जिकिर समेत गरेका थिए ।
तत्कालीन सरकारले २०७७ जेठ ७ गते चुच्चे नक्सा जारी गरेको थियो। जसमा नेपाली संसद्ले अभूतपूर्व एकता प्रदर्शन गर्दै संविधान संशोधन गरेर आफ्नो मानचित्र घोषणा गरेको थियो। तर मेटमणिले त्यसको विरुद्ध अभिव्यक्ति दिएपछि उनको पार्टीले चौधरीलाई स्पष्टीकरण सोधेको थियो । चौधरीको अभिव्यक्ति मुलुकको अखण्डता र सार्वभौमिकताविरुद्ध भएको भन्दै चाैतर्फी आलोचनासमेत भएको थियो ।