आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु : प्रधानमन्त्री ओली

शुक्रबार, असार ६ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको बताएका छन् ।

त्यसबेला समर्थन र विरोधका आवाज थरिथरिका भएको उल्लेख गर्दै उनले ११२ अर्ब घनमिटर ग्यास रहेको खबरले ती दिनलाई सम्झाएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा खुसी हुँदै शुक्रबार बिहान उनले लेखका छन्, ‘पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु । समर्थन र विरोध–आवाज थरिथरिका थिए । ११२ अर्ब घनमिटर ग्यास रहेको खबरले ती दिनलाई सम्झाएको छ । यो खुसीको समाचार हो ।’

चिनियाँ विज्ञ टोलीले दिएको प्रारम्भिक प्रतिवेदनले दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर मिथेन ग्यास रहेको पाइएको समाचारहरू आएका छन् । विज्ञहरूका अनुसार उक्त ग्यास भण्डार प्रयोगमा ल्याउन सके नेपालमा ५० वर्षसम्मलाई पुग्ने बताइएको छ ।

विसं २०७८ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो ड्रिलिङ कार्य चार हजार १३ मिटर गहिराइमा पुर्‍याइएको थियो ।

यो जम्मा चार वटा सम्भावित कुवामध्ये पहिलो कुइँकानको मात्रै प्रारम्भिक नतिजा हो । बाँकी तीन कुइँकानको प्रारम्भिक अनुमानअनुसार जलजले क्षेत्रमै कूल चार सय ३० अर्ब घनमिटर ग्यास हुने प्रक्षेपण गरिएको छ ।

२०७२ चैतमा प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबिच पेट्रोलियम पदार्थको अन्वेषणमा सघाउने द्विपक्षीय समझदारी (जीटुजी) मा हस्ताक्षर भएपछि २०७५ माघमा दैलेखको पेट्रोलियम पदार्थको विस्तृत अन्वेषणको जिम्मा चीनलाई दिन स्वीकृत भएको थियो ।

विसं २०७५ माघमा नेपाल–चीन बीच पेट्रोलियम अन्वेषणका लागि हस्ताक्षर भएको सम्झौताले एक प्राविधिक प्रगति मात्र होइन, रणनीतिक सन्देशका रूपमा हेरिएकाे छ ।