आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आलम जोगाउने दुई न्यायाधीशमाथि छानविन सुरु

शुक्रबार, असार ६ २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमसहित चार जनालाई सफाइ दिने उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका दुई न्यायाधीशलाई त्यहाँबाट झिकाउन न्याय परिषद्ले सिफारिस गरेको छ ।

यसअघि अफताब आलमलाई सफाइ दिने न्यायाधीश थारू र महर्जनमाथि छानबिनको माग गर्दै पीडितले न्याय परिषद्‌मा उजुरी दिएका थिए ।

न्याय परिषद् स्रोतका अनुसार दुवै जना न्यायाधीशद्वयलाई बिहीबारदेखि इजलासमा बस्नबाट रोक लगाउँदै सर्वोच्चमा हाजिर हुन बोलाइएको छ । उच्चका न्यायाधीशद्वयमाथि छानबिन गर्न सर्वोच्चका न्यायाधीश विनोद शर्माको अध्यक्षतामा छानबिन समितिसमेत गठन गरिएको छ ।

न्याय परिषदमा यसअघि नै वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले दुवै न्यायाधीशको सुरक्षालाई समेत ध्यानमा राखेर परिषदमा तान्नुपर्ने प्रस्ताव राखे पनि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र कानूनमन्त्री अजय चौरसियाले नमानेकाे चर्चा थियाे ।

यसबीचमा न्यायाधीश थारुमाथि दुर्व्यवहारसमेत भएको थियो ।

जिल्ला अदालतल रौतहटले गत वर्ष २०८१ को असारमा आलम र अन्य तीनलाई १७ वर्षअघि २०६४ चैत २७ गते बम विस्फोटमा घाइते भएका पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई राजापुरस्थित इँटाभट्टामा फालेर जिउँदै जलाएको कसुरमा जन्मकैदको सजाय गरेको थियो । त्यसविरुद्ध भएको पुनरावेदनको सुनुवाइमा जेठ १४ गते न्यायाधीशद्वयको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएको हो ।  फैसला भएकै दिन नख्खु कारागारमा रहेका आलम छुटिसकेका छन् ।

संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा आलमको निर्देशनमा बम विस्फोट भएको थियो ।

त्यसको पोल खुल्ने डरले बम विष्फोटका घाइतेहरूलाई इँटा भट्टामा हालेर जलाएको आरोप पूर्वमन्त्री आलममाथि लागेको थियो ।

आलमको घरमा बम विस्फोट भएको भन्ने कुरा वस्तुनिष्ठ आधार तथा प्रमाणले पुष्टि हुन नसकेको न्यायाधीशद्वय थारू र महर्जनको संयुक्त इजलासको ठहर छ ।

सो इजलासले आलमका अलावा उनका भाइ मोहम्मद महताब आलम, शेख सेराज भन्ने शेख सराज र बद्री सहनीलाई पनि सफाइ दिएको छ । सफाइ दिने क्रममा मुख्यरूपमा तीनवटा आधार लिइएको छ ।

‘२०६४ चैत २७ गते मोहम्मद अफताब आलमको घरमा बम विस्फोट भएको वारदात नै वस्तुनिष्ठ प्रमाणले पुष्टि हुन नसकेको, वम विस्फोटका घाइते भनिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंह र ओसी अख्तरलाई ट्याक्टरमा हाली राजा इँटा भट्टामा लगेर पोलेको भन्ने ठोस प्रमाण पेश गर्न नसकेको र विधि विज्ञान परीक्षण प्रतिवेदनबाट मृतकलाई इँटा भट्टामा पोलिएको दाबी पुष्टि हुन नसकेको भन्ने मुख्य ३ वटा आधार लिइएको हो । कानूनभन्दा बाहिर गएर अनेकन आधार खडा गरेर आलम जोगाउने फैसला गरेपछि उहाँहरुमाथि छानविन सुरु भएको हो ।

मारिएका पिन्टुका ८४ वर्षीय पिता नारायणसिंह राजपुत सोमबार न्यायपरिषद्मै पुगेर तथ्य प्रमाणभन्दा बाहिर गई इजलास लागेको केहीबेरमै सफाइ दिने न्यायाधीशद्वयमाथि छानबिन गरिपाऊँ भनी उजुरी दिएका थिए।