काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भिजिट भिसा प्रकरणमा अझ सशक्त ढंगले अगाडि बढ्न संसदीय समितिलाई निर्देशन दिएको छ ।
बिहीबार सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै रास्वपाले सभापति रवि लामिछानेमाथि लगाइएको मुद्दा र भिजिट भिसा प्रकरणबारे गम्भीर छलफल भएको जानकारी दिएको छ ।
एक विज्ञप्ति जारी गर्दै रास्वपाले भनेकाे छ ‘सभापति रवि लामिछानेमाथि लगाइएको झुट्टा र प्रतिशोधपूर्ण मुद्दाको वर्तमान अवस्था र भिजिट भिसा काण्डमा पार्टीको संसदीय गतिविधिबारे गहन छलफल भयो । उक्त मुद्दा विरुद्ध पार्टी एक ढिक्का भएर अघि बढ्ने तथा भिजिट भिसा काण्डमा संसदमा संसदीय दलको प्रयास प्रशंसनीय रहेको ठहर गर्दै अझ सशक्त रूपमा संसदमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिने ।’
यसैगरी विषम राजनीतिक परिस्थितिमा वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहहरूलाई एउटै धागोमा बाँध्न पार्टीले नेतृत्व लिने र ‘सहकार्य–संवाद कार्यदल’ गठन गरेको छ । असार ७ गते बिहान ‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गरी पार्टीको तेस्रो स्थापना दिवस मनाउने निर्णय गरेको छ ।
यस्तै बैठकले केन्द्रीय विभागहरूमा मनोनयन तथा जिम्मेवारी हेरफेर गरिएको छ । नीति तथा विचार विभाग प्रमुखमा डा. स्वर्णिम वाग्ले, उपप्रमुख सन्तोष परियार रहेका छन् । अभियान तथा प्रचारप्रसार विभाग प्रमुखमा मनिष झा र कृषि विभागको प्रमुखमा राजन गौतम रहेका छन् ।
“सांसद सुमना श्रेष्ठको निर्देशनमा नक्कली उजुरी दिइएको” भन्ने भ्रामक समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको रास्वपाले जनाएकाे छ। पार्टीले यसलाई संसदको रोष्ट्रमबाट गृहमन्त्रीद्वारा पीडितलाई दिइएको धम्कीको नियोजित श्रृङ्खलाको एक हिस्सा मानेको उल्लेख छ।
पार्टीले स्पष्ट गर्दछ कि यस्तो व्यवहारप्रति कुनै प्रकारको प्रोत्साहन दिइएको छैन । तथापि, पार्टीमा आबद्ध कुनै व्यक्ति संलग्न भए/नभएको यकिन गर्न प्रा.डा. चन्दा कार्की भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिमा वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे र पूर्व एसएसपी लव बिष्ट सदस्यहरू रहेका छन् ।
