काठमाडौं । दिपक मनाङ्गे गण्डकी प्रदेश सभा सदस्यबाट पदमुक्त भएका छन् । फौजदारी कसुरमा दोषी ठहर भई फैसला अन्तिम भइसकेका मनाङ्गेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले पदमुक्त हुने निर्णय गरेको हो। उनी मनाङ ‘ख’ बाट प्रदेश सभामा निर्वाचित भएका थिए ।
संवैधानिक इजलासले मनाङ्गे फौजदारी कसुरमा दोषी ठहर भई फैसला अन्तिम भइसकेको कारण उल्लेख गर्दै प्रदेशसभा सदस्यबाट पदमुक्त हुने निर्णय गरेको हो । साथै, उनले विवरण ढाँटेर प्रदेशसभा सदस्य बनेकोसमेत इजलासको ठहर छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडाल रहेको संवैधानिक इजलासले मनाङेलाई पदमुक्त गर्ने निर्णय गरेको हो । २०८१ कात्तिक २० गते सर्वोच्च अदालतले २०६१ को चक्रे मिलनमाथिको आक्रमणको मुद्दामा उनालाई ५ वर्ष कैद सजाय सुनाएको थियो ।
सोपश्चात मंसिर २ गते काठमाडौंको सानोभर्याङबाट पक्राउ परेका मनाङेलाई डिल्लीबजार कारागार चलान गरिएको थियो ।
मनाङ्गे हाल फैसला कार्यान्वयनको क्रममा थुनामा छन् ।