आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

महर्जनको इजलासमा रवीन्द्र मिश्रको थुनछेक बहस

मंगलबार, असार ३ २०८२

काठमाडाैं । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र अदालतमा हाजिर भएका छन्।

तीनकुने घटनामा संलग्न भएको आरोपमा सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेपछि फरार रहेका मिश्र आज अदालत हाजिर भएका हुन्।

मिश्रको थुनछेकका लागि बयान सुरु भएको छ। न्यायाधीश तारादेवी महर्जनको इजलासमा बयान भइरहेको छ।

गत जेठ ११ मा मिश्र विरुद्ध ४ वटा मुद्दामा अभियोजन गरिएको थियो ।

तीनकुने घटना भएको चैत १५ कै राति मिश्र पक्राउ परेका थिए । पक्राउविरुद्ध उनी सर्वोच्च अदालतमा बन्द्रीप्रत्यक्षीकरणको रिट बोकेर सर्वोच्च पुगेका थिए । जसमा सर्वोच्चले उनलाई रिहा गर्न आदेश दिएको थियो । सो आदेशलगत्तै हाजिर जमानीमा रिहा भएका उनी सम्पर्क विहीन हुँदै आएका थिए ।

सोही मुद्दामा सोमबार मात्र राप्रपाका महामन्त्री धवलशमशेर राणा ३ लाख धरौटीमा रिहा भएका थिए । उनी जाहिर जमानीमा रिहा भएर फरार रहेका थिए ।

राणा र मिश्र, दुर्गा प्रसाइसहित ५३ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा राष्ट्रविरुद्धको कसुर, संगठित अपराध, आपराधिक उपद्रोसहितका विभिन्न पाँचवटा कसुरमा मुद्दा दायर भएको छ।

हिरासतमै रहेका प्रसाईसहित सात जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।