काठमाडौं । रास्वपा र राप्रपाको अवरोधबीच प्रतिनिधिसभाको बैठक शुरु भएको छ ।
आज बिहान ११ बजेका लागि तय भएको बैठक केही समय ढिलो गरी शुरु भएको हो । आज पनि प्रतिपक्षी दल रास्वपा र राप्रपाले विरोध गरेका थिए । तर, सभामुख देवराज घिमिरेले अवरोधकै बीच बैठकको कारबाही अघि बढाएका छन् ।
आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गरिनेछ भने उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।
आजै अर्थमन्त्री पौडेलले ‘विनियोजन विधेयक, २०८२’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ ।
हिजो पनि रास्वपाको नाराबाजी र राप्रपाको बहिष्कारपछि सभामुखले बैठक अघि बढाएका थिए । बैठकअघि सभामुखले राखेको छलफलमा कुनै सहमति हुन सकेन ।