आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार, तत्कालीन गाविस अध्यक्षसहित १७ जनाविरुद्ध मुद्दा

सोमबार, असार २ २०८२

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके, साविक नरैनापुर गाउँ विकास समितिको कार्यालयका तत्कालीन अध्यक्ष अजय कुमार श्रीवास्तवसहित १७ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरी/गराई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।

आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाका अनुसार नरैनापुर गाउँ विकास समिति बाँकेमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा गाविस सचिव र मुखियाले मिलेमतो गरी नियम विपरित भत्ता वितरण एवं लिने/खाने गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनीहरुले ६ लाख ५६ हजार ७००रूपैयाँ हिनामिना गरेको पुष्टि भएकोले उनीहरुविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

साथै, पाटेश्वरी सिंह ठाकुर, मुज्फर खाँ, राम सुमझ कुर्मी, जलील खाँ र राम सेवक कूर्मीसमेतको मृत्यु भइसकेको विवरण प्राप्त भएकोले बिगोको हकमा प्रतिवादी तत्कालीन गाविस सचिव सावित राम कुर्मीबाट असुल उपर गर्न मागदाबीसमेत लिइएको आयोगले जनाएको छ।

साविक नरैनापुर गाउँ विकास समितिले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा आव २०५७/०५८ देखि २०७२/०७३ सम्म सामाजिक सुरक्षा भत्ता पाउन उमेर नपुगेका १९ जना व्यक्तिहरुलाई नागरिकतामा उल्लेखित जन्ममिति र नागरिकता जारी मिति अन्देखा गरी ज्येष्ठ नागरिक तथा दलित ज्येष्ठ नागरिकको रुपमा, नागरिकताको प्रमाणपत्र नभएको व्यक्तिलाई एकल महिलाको रुपमा र भारतमा विवाह गरी गएका महिलालाई एकल महिलाको रुपमा तत्कालीन सचिव र अध्यक्षले सामाजिक सुरक्षा लाभग्राही परिचयपत्र जारी गराई सामाजिक सुरक्षा भत्ता वितरण गरेको आरोपपत्रमा उल्लेख छ ।