आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

रास्वपा र राप्रपाको विरोधका बीच प्रतिनिधिसभाको बैठक सुचारू

आइतबार, असार १ २०८२

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि रास्वपा र राप्रपाका सांसदले विरोध जनाएका छन् ।

दुई दलको विरोधका बीच सभामुख देवराज घिमिरेले सदनको कारबाही अघि बढाएका छन् । अहिले रास्वपा र राप्रपाका सांसदले नाराबाजी गरिरहेका छन् । भिजिट भिसा प्रकरणमा उनीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन आयोगको माग गर्दै आएका छन् ।

यसअघि सभामुख घिमिरेले संसद्मा जारी अवरोध हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग बेग्लाबेग्लै छलफल गरेका थिए ।

रास्वपा कार्यवाहक अध्यक्ष अर्यालले आफूहरूको अवरोध जारी रहने बताउँदै संसद्लाई मर्यादित बनाउने प्रतिबद्धता जनाएका थिए । गत शुक्रबारको बैठकमा अवरोधका क्रममा संसदीय मर्यादाविपरीतका गतिवधि भएकोबारे विभिन्न दलका प्रमुख सचेतकहरूले सभामुखको ध्यानाकर्षण गराएका थिए ।

सभामुखले राप्रपाका अध्यक्ष लिङ्देनलाई पनि संवैधानिक बाध्यता बुझिदिन आग्रह गर्दै संसद्को अवरोध हटाउन अनुरोध गरेका थिए ।