काठमाडौं । देशका सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट आईतबार सार्वजनिक गर्दैछन् ।
असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्थाअनुसार आज सातै प्रदेशका आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सार्वजनिक गर्न लागेका हुन् ।
केन्द्र सरकारले जेठ १५ गते नै बजेट सार्वजनिक गरिसकेको छ भने स्थानीय सरकारले असार १ गते बजेट सार्वजनिक गर्ने छन् ।
अघिल्ला वर्षका बजेट कार्यान्वयनमा समस्या देखिएपछि अधिकांश प्रदेशले बजेटको आकार नबढाउने भएका छन् । प्राय सबै प्रदेशले कृषि, रोजगारी र पर्यटनलाई प्राथमिकतामा राखेका छन् ।
कोशी प्रदेशले ३५ देखि ४० अर्ब हाराहारीको बजेट सार्वजनिक गर्ते तयारी गरेको छ भने मधेश प्रदेशले ४५ अर्ब बराबरको बजेट ल्याउन लागेको छ ।
यस्तै, बाग्मती प्रदेश सरकारले दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा ६८ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।
यसैगरी, गण्डकी प्रदेशले ३२ अर्बको बजेट ल्याउने तयारी गर्दा लुम्बिनी प्रदेशले चालू आर्थिक वर्षको भन्दा केही सानो बजेट ल्याउने स्रोतले जनाएको छ । लुम्बिनी सरकारले चालू आर्थिक वर्षमा झण्डै ३९ अर्बको बजेट ल्याएको थियो ।
कर्णाली प्रदेशले ३१ अर्बको सेरोफेरोमा बजेटको तयारी गरिरहँदा सुदूरपश्चिम प्रदेशले चालु आर्थिक वर्षकै आसपासमा ३१ अर्बको बजेट ल्याउन लागेको छ ।