आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

भ्रष्टाचारमा मुछिए बालेन, छानबिनमा तानिए

बिहिबार, जेष्ठ २९ २०८२

काठमाडौं । काठमाडौंमा महानगरपालिकाका मेयर बालेन शाह अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा पनि तानिएका छन् ।

गत वर्षको जेठमा बालेन विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुन दुईजना सल्लाहकारसहित फ्रान्स गएका थिए । त्यतिखेर बालेनसँग उनका व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल भ्रमण टोलीमा सहभागी थिए ।

सुनिल लम्साल र कुमार व्यञ्जनकारलाई कर्मचारीको रूपमा सहभागी गराएको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन अघि बढाएको हो । त्यस्तै महानगर प्रमुख बालेन सल्लाहकार सुनिल लम्सालका साथमा अर्कोपल्ट ब्राजिल भ्रमणमा गएका थिए । यस भ्रमणको खर्च पनि अनियमित रूपमा गरिएको महालेखाले उल्लेख गरेको छ ।

अख्तियारले उनका सल्लाहकारहरूसँग बयान लिइसकेको बताइएको छ । बालेनसँग पनि सोधपुछ गरेपछि मुद्दा चल्ने कि नचल्ने भन्ने विषयमा अख्तियारले निर्णय गर्नेछ । महालेखापरीक्षकको पछिल्लो प्रतिवेदनले काठमाडौँ महानगर प्रमुखसहित विभिन्न पदाधिकारी तथा कर्मचारीले विदेश भ्रमण गर्दा ५२ लाख ५४ रुपैयाँभन्दा बढी अनियमित रूपमा खर्च गरेको औँल्याएको छ । त्यसमध्ये ३२ लाख ७९ हजार रूपैयाँबराबरको अनियमित खर्च बालेन र उनका सल्लाहकारका नाममा भएको भेटिएको छ ।

महालेखाको प्रतिवेदनअनुसार  काठमाडौं महानगरपालिका मा ६८ करोड २ लाख रुपैया बेरुजु रहेको छ ।

कान्स सहरका मेयरको निम्तोमा उक्त फेस्टिभल हेर्न जाँदा साहले जम्मा २२ लाख ५६ हजार ४ सय २ रुपैयाँ ७५ पैसा खर्च गरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन–२०८२ मा उल्लेख छ । उक्त भ्रमणका क्रममा भएको खर्च बालेन र उनको सचिवालयले फरकफरक भौचरबाट काठमाडौं महानगरबाट भुक्तानी लिएको भेटिएको छ । २०८१ वैशाख ३१ गते भौचर नं। ४२६२ मार्फत मार्फत १ लाख ४४ हजार ७०६ रुपैयाँ ५० पैसा र २०८१ असार दुई गते भौचर नं। ५०९१ मार्फत बालेनको नाममा ६२ हजार ५३१ रुपैयाँ २५ पैसा खर्च गरिएको देखाइएको छ ।

यस्तै महानगरपालिकाले सार्वजनिक खरिद ऐन विपरीत काम गराएर ४४ लाख ८७ हजार ९२८ रुपैयाँ अनियमितता गरेको महालेखाको प्रतिवेदनमा देखिएको छ । महालेखाको प्रतिवेदनअनुसार मुलुकका कुल ६ वटा महानगरमध्ये सबैभन्दा बढी बेरुजु रकम काठमाडौं महानगरपालिकामै देखिएको छ ।

महालेखाले बालेनको भ्रमणका क्रममा ‘स्थानीय तहका पदाधिकारीको विदेश भ्रमण सम्बन्धी निर्देशिका, २०७५’ को गम्भीर उल्लङ्घन गरिएको जनाएको छ । निर्देशिकाको मनोनयन प्रक्रिया र खर्च व्यहोर्ने प्रावधान विपरीत महानगरपालिकाले लाखौँ रुपैयाँ खर्च गरेको प्रतिवेदनमा भनिएको छ । उक्त भ्रमणका नाममा भुक्तानी गरिएको अधिकांश रकमलाई पनि महालेखाले नियमसंगत नरहेको भनेको छ ।

यता  काठमाडौं महानगरपालिकाका अघिल्ला प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सातजनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मात्र परियारसहित सातजनाविरुद्ध मुद्दा दायर गरेको हो ।

परियार २०८० माघ ५ गतेदेखि ०८१ भदौ २७ गतेसम्म काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत रहेका थिए ।

अख्तियारले परियारविरुद्ध दायर गरेको भ्रष्टाचार मुद्दाको आरोप पत्रमा ‘सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको’ दाबी गरेको छ। जुन उनी काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमै रहँदाको हो।

‘काठमाडौं महानगरपालिकाको सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरा देखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा भ्रष्टाचार गरेको’ उजुरी निवेदनका आधारमा अनुसन्धान गरेको अख्तियारले जनाएको छ।

सोही ठेक्कामा मिलेमतो गरेको भन्दै परियारसहित बोलपत्र मूल्याङ्कन समितिका पदाधिकारीहरू चार जना निर्देशक रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य र नमराज ढकाल, इन्जिनियर जनार्दन गिरी र खरिद एकाईका सहायक निर्देशक उत्तम दाहाललाई अख्तियारले मुद्दा लगाएको छ।

परियारसहित सातै जनालाई अख्तियारले ‘मिलेमतो तथा बदनियत’मा ठेक्काको खरिद प्रक्रिया’ सञ्चालन गरेको आरोप लगाएको छ।