काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न ३ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने तय भएको छ । तर, प्रतिपक्षी दलहरूको निरन्तर अवरोधका कारण बैठक नियमित कार्यसूचीमा प्रवेश गर्ने वा नगर्ने भन्नेमा अन्योल कायमै छ ।
आजको सम्भावित कार्यसूचीअनुसार, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने छन् । सो प्रस्तावमाथि संसदमा छलफल हुने अपेक्षा गरिएको छ ।
त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक, २०८२ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने तयारी छ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
जेठ १३ गतेदेखि संसद बैठक प्रभावित हुँदै आएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग राख्दै प्रतिपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गरिरहेका छन् । उनीहरूले घटनामा गृहमन्त्रीको भूमिका स्पष्ट नहुँदासम्म राजीनामा र छानबिन समिति गठनको माग दोहोर्याउँदै आएका छन् ।
सभामुख घिमिरेले संसद सुचारु गराउने उद्देश्यले सत्ता पक्ष र विपक्षका नेताहरूसँग पटक–पटक छलफल गरे पनि दुई पक्षबीच सहमति जुट्न नसकेको स्थिति छ । यही कारण आजको बैठक बस्ने वा फेरि स्थगित हुने भन्ने अन्योल यथावत् छ ।