म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक स्रोतको उचित व्यवस्थापन र परिचालन गरेर मुलुकमा आर्थिक परिर्वतन ल्याउन सकिने धारणा राखेका छन्।
म्याग्दी हुँदै मुस्ताङ जाने क्रममा आज बिहान म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित भुरुङ–तातोपानी, रुप्से झरना र अन्धगल्छीको अवलोकनपछि जनप्रतिनिधि र स्थानीयसँग अन्तरक्रिया गर्दै उनले प्राकृतिक स्रोतलाई उचित व्यवस्थापन गरी पर्यटन प्रवर्द्धनको आधार बनाउन सकिने सम्भावना रहेको बताए ।
“चीन र भारतलाई जोड्ने रणनीतिक महत्त्वको कालीगण्डकी करिडोर सडकको अवस्था, प्राकृतिक स्रोतको सम्भावना र परिचालनका विषयमा छलफल, पूर्वाधार विकासको आवश्यकता तथा जनताका समस्या बुझ्न पोखराबाट सडक मार्ग हुँदै मुस्ताङ जाने निर्णय गरेको हुँ”, उनले भने, “म्याग्दीमा रहेका प्राकृतिक तातोपानीका मुहानलाई संरक्षण, प्रवर्द्धन र व्यवस्थित गरेर स्वास्थ्य पर्यटनको विकास गराउन सकिने सम्भावना देखेको छु ।”
कालीगण्डकी र आसपासका नदीहरूमा निर्माण भइरहेका जलविद्युत् आयोजनामा रोजगारीका अवसर सृजना हुनुका साथै हिमाल, झरना र रमणीय दृष्यावलोकनमा पर्यटकको आकर्षण बढाउन प्राकृतिक सम्पदाको पहिचान, प्रवर्द्धन र विकास गर्नुपर्नेमा अध्यक्ष दाहालले जोड दिए । पर्यटन प्रवर्द्धनमार्फत नागरिकको आर्थिक अवस्थामा परिवर्तन ल्याउन सकिने उनको भनाइ छ ।
भुरुङ–तातोपानी कुण्डमा स्नान गरी अध्यक्ष दाहालले अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, पूर्वअध्यक्ष डमबहादुर पुन, स्थानीयवासीलगायत नेताकार्यकर्तासँग अन्तरक्रिया गरेका थिए ।
अन्तरक्रियाका क्रममा स्थानीयवासीले बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरो नियन्त्रण तथा कटान रोकथाम गरेर सुरक्षित रूपमा नियमित यातायात सञ्चालनको व्यवस्था मिलाउन माग गरेका थिए ।