आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

महिलाको शरीर तलासी गरेको भन्दै पूर्वमन्त्री एवं राप्रपा नेता सुब्बाविरुद्ध अदालतमा मुद्दा

मंगलबार, जेष्ठ २७ २०८२

काठमाडौं । पूर्वमन्त्री एवं राप्रपा नेता रामकुमार सुब्बाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । एक महिलाले सुम्बासहित तीन जनाविरुद्ध गैरकानूनी शरीर तलासी तथा बेइज्जती मुद्दा दायर गरेकी हुन् ।

सुब्बा राप्रपाका नेता हुन् । उनी २०७२ सालमा भूमि मन्त्री बनेका थिए ।

सुब्बालगायत इटहरी उपमहानगरपालिका–९ बस्ने गोपाल साह र सुनिता घिमिरेविरुद्ध मुद्दा परेको हो । साह पीडित महिलाका ससुरा हुन् ।

श्रीमानसहित परिवारका सदस्यहरूले हेलाहोचो गरी घरबाट निकाला गरेको भन्दै पीडित महिलाले यसअघि अंश मुद्दा दायर गरेकी थिइन् । उनले आफूलाई श्रीमान र ससुराले बारम्बार यातना दिने गरेको बताएकी छन् ।

पछि मोरङको डायनियाँस्थित माइतीमा बस्दै आएकी ती महिलाले दायर गरेको मुद्दामा उनको परिवारले म्यादसमेत नबुझेको र गत चैत २२ गते पूर्वमन्त्री सुब्बा, सुनिता र ससुरा गोपालसमेत माइतीमै आएर दुर्व्यवहार गरेको उल्लेख छ ।

उनलाई पूर्वमन्त्री सुब्बाले आफू इटहरीको नेता र पूर्वमन्त्री रहेको भन्दै मुद्दा फिर्ता गर्न दबाब दिएको पीडितको जाहेरीमा उल्लेख छ । सुब्बाले आफूलाई ‘तिमी महिला नरहेको, महिलाको गुण नरहेको, महिलाको स्वरूप नरहेकोले घरजम नभएकोले हेर्न आएको’ भन्दै धाकधम्की दिएको उनको जाहेरीमा उल्लेख छ । उनले ती महिलालाई लैङ्गिक अपमान हुने शब्द प्रयोग गरेको फिरादपत्रमा उल्लेख छ । उनले महिलाको गोप्य अंग नै ‘चेक गर्न लगाएको’ अभियोग छ ।

यता सुब्बाले भने त्यसको प्रतिवाद गरेका छन् । आफूले कुनै दुर्ब्यबहार नगरेको बताउँदै उनले गोपाल आफ्नै घरमा बस्ने केटो भएकाले परिवार बिखण्डन हुन लागेकाले छलफलमा गएको बताए । उनले भने, ‘म छलफलमा गएको हो । छलफलमा गएको विषयलाई अतिरन्जित बनाइयो ।’

सुब्बा २०७२ मा सरकारका भूमिसुधार मन्त्री बनेका थिए ।