काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्नु अघि विपक्षी दलहरुको बैठक बस्दैछ ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् ।
प्रतिनिधि सभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकिरहेका बेला प्रचण्डले विपक्षी दलको बैठक बोलाएर छलफल गर्न लागेका हुन् ।
बैठक मध्यान्ह १२ बजे बस्ने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने विपक्षी दलहरूको अडानबाट पछि हटेर उच्चस्तरीय न्यायिक समिति वा संसदीय समिति गठन हुनेबारे सत्ता पक्षले सदनलाई जानकारी दिए संसद्को अवरोध हटाउने बताएका छन् ।
यसअघि विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान राख्दै आएका थिए ।
सत्तारुढ दलका नेताहरूसँगको भेटमा भएका संवादको विषय समेत प्रचण्डले विपक्षी दलहरूलाई ब्रिफिङ गर्नेछन् ।
भिजिट भिसा प्रकरणका कारण जेठ १३ गतेदेखि संसद् लगातार अवरोध हुँदै आएको छ ।