आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

बालेनकाे निष्किृयता कि ! स्वेच्छाचारिता ?

बुधबार, जेष्ठ २१ २०८२

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले सुरुवातमा जनताबाट अपार समर्थन पाए पनि, समयसँगै ती अपेक्षाहरू भारी (बोझ) बन्दै गएको प्रतित हुन थालेको छ। उनका अधिकांश निर्णयहरू विवादास्पद बन्न थालेपछि उनीमाथि चौतर्फी आलोचना हुन थाल्यो – राजनीतिक दलहरू, मिडिया, सामाजिक अभियन्ता, र कतिपय कलाकारसम्मबाट।

यस्तो निरन्तर आलोचनाकाे दबाबले यतिबेला उनी मानसिक थकानमा भएको आभास हुन थालेको छ । सायद यसैका कारण उनी यति बेला निष्कृय प्रायः छन् । खुल्ला अभिव्यक्ति खासै नदिने विशेषताका उनी यतिबेला सामाजिक सञ्जालमा पनि निष्कृय जस्तै छन् । एक समय धेरैको ‘हाइ हाइ’ कमाएका बालेन यतिबेला किन एक्लिए ?  बालेनकाे निष्किृयता कि ! स्वेच्छाचारिता ? प्रश्न उठ्ने गर्छ ।

मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईबीचको सम्बन्ध पछिल्ला केही समय यता उल्लेख्य रूपमा चिसिएको छ। त्यसमाथि उपमेयर सुनिता डंगाेलदेखि महानगरका अधिकांश प्रतिनिधिले बालेनलाइ साथ नदिँदा उनकाे निष्कृयता अझ बढेको हुनसक्छ । महानगरकाे मेयर भएपनि उनी यति बेला चेपुवामा छन् भन्दा अतिशयुक्ति नहाेला ।

यी दुईबीचको मनमुटाव अब संस्थागत कामकाजमै असर पार्न थालेको देखिन्छ । न त कार्यपालिका बैठक बोलाइन्छ, न त योजना सहज रूपमा कार्यान्वयन भइरहेका छन्। यो मनमुटाव केवल वैयक्तिक मतभेद होइन, जनप्रतिनिधि र प्रशासनबीचको परम्परागत द्वन्द्वको झल्को पनि हो।

बालेनले कार्यपालिका बैठक नियमित रूपमा नबोलाएको विषयले हाल राजनीतिक र प्रशासनिक वृत्तमा चासोको विषय बनेको छ। स्थानीय शासन ऐनअनुसार, प्रमुख (मेयर)ले महानगरको कार्यपालिका बैठक समय–समयमा बोलाउनुपर्छ, जहाँ नगरका नीतिगत, विकास, बजेट, योजनाका महत्वपूर्ण निर्णयहरू लिइन्छन्। तर बालेनले यस्तो बैठक लामो समयदेखि नबोलाएकोप्रति विभिन्न प्रश्न उठिरहेका छन्।

कार्यपालिकाभित्र अल्पमतमा परेसँगै बालेन बैठक बोलाउन तयार नभएको चर्चा छ। उनको यो एक प्रकारको ‘इगो’ले स्थानीय शासनको लोकतान्त्रिक अभ्यासमा प्रश्न उठाएको छ। एक सशक्त, जवाफदेही र सहभागितामूलक शासन प्रणालीका लागि संस्थागत संयन्त्रलाई बलियो बनाउनुपर्नेमा उनले व्यक्तिगत नेतृत्वलाई प्राथमिकता दिएको आरोप पनि लागिरहेको छ। उनको सार्वजनिक अभिव्यक्ति, निर्णय प्रक्रिया, कर्मचारी तथा प्रशासनसँगको सम्बन्ध, र कार्यपालिका बैठकसमेत नबोलाइने अवस्थाले बालेनमा यो प्रवृतिले बडवा पाएको चर्का छ।

यसअघि भएका केही निर्णयहरू पनि मेयरको सचिवालय वा सीमित घेरामा भइरहेको आरोप छ । यो आरोप महानगरकै प्रतिनिधिहरु हो । प्रजातान्त्रिक अभ्यासमा यसलाई निको मान्न सकिँदैन ।अब, बालेनले यदि दीर्घकालीन प्रभाव पार्न चाहन्छन् भने केवल काम गर्नु मात्र होइन, संस्थागत प्रक्रियालाई सम्मान गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता देखिन्छ। कार्यपालिका बैठक भनेको औपचारिकता मात्र होइन, जिम्मेवारी बाँड्ने र सहमति निर्माण गर्ने विधि पनि हो। यसको बेवास्ता, लोकतान्त्रिक शासनका लागि खतरनाक हुन सक्छ।

बालेनलाई सुरुमा “कठोर निर्णयकर्ता” भनेर प्रशंसा गरियो। तर पछिल्ला दिनहरूमा उनीमाथि “स्वेच्छाचारी” भन्ने आरोप लाग्न थालेको छ। धेरैले भनिरहेका छन् कि उनले न त नगरसभा सदस्यहरूसँग समन्वय गर्छन्, न त अन्य सरकारी निकायसँग सल्लाह। धेरै नीति र निर्णयहरू व्यक्तिवादी शैलीमा हुने गरेको गुनासो आएको छ। सहकार्यको भावना नदेखिनु लोकतान्त्रिक प्रक्रियाको अपमान भएको भन्दै आलोचना चुलिएको हो।

शुरुआती समयमा बालेनको फुटपाथ अतिक्रमण हटाउने कार्य निकै प्रशंसनीय मानिएको थियो। तर त्यसक्रममा सडक पसले, असंगठित मजदुर, गरिब परिवारमाथि परेको असरप्रति उनले पर्याप्त ध्यान नदिएको आलोचकहरू बताउँछन्। ‘कानून सबैका लागि बराबर’ भन्ने सिद्धान्त सुन्दर हो, तर कार्यान्वयनमा मानवीय संवेदना अभाव देखिएको आरोप लाग्यो। उनले यसअघि सटर भत्काउने, सडक मर्मत, सार्वजनिक शौचालय स्थानान्तरण — प्रायः एकल निर्णय जस्ता लाग्ने ढंगले गरिरहेका थिए। त्यसमा उनले न त टोल विकास समिति, न जनप्रतिनिधि, न सरोकारवाला निकायसँग समन्वय गरिरहेका हुन्थे । यस्तो शैली ‘जनउत्तरदायी’ नेतृत्व होइन, ‘म त हूँ’ प्रवृत्तिको उदाहरण हो ।

बालेन सामाजिक सञ्जालमा सक्रिय छन्, जुन एक हिसाबले पारदर्शिता हो। तर कहिलेकाहीँ उनका स्टाटसहरू आक्रोशपूर्ण, अपमानजनक र भावनामा बहकिने खालका हुने गरेका छन्।

बालेनलाई ‘आफू सही अरू गलत’ भन्ने मानसिकतामा फसेको आरोप पनि लागिरहेको छ। आलोचना वा सुझाव दिनेहरूलाई सिधा खण्डन गर्ने, व्यंग्य गर्ने वा ब्लक गर्ने शैलीले लोकतान्त्रिक संस्कृतिमा प्रश्न उठेको छ।