काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायात ठप्प पारेकोप्रति आपत्ति जनाएका छन् ।
मंगलबार पूर्वाधार विकास समितिको बैठकमा मन्त्री दाहालले गएराति सरकार र यातायात व्यवसायीबीच आजदेखि गाडी सञ्चालन गर्ने सहमति भए पनि अझै सञ्चालन नभएकोप्रति आपत्ति जनाएका हुन् ।
सोमबार राति सरकार र यातायात व्यवसायीहरूबीच भएको सहमतिअनुसार यातायात सञ्चालन नगरेर गल्ती भएको उनले बताए ।
‘हामीले प्रदेशको अधिकारको हनन हुने खालको सम्झौता गरेका छैनौँ,’ उनले भने, ‘केही सवारी तथा सार्वजनिक यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अन्तिम अवस्थामा पुर्याएका छौं जसमा ती कुराहरू सम्बोधन गर्ने हाम्रो तयारी छ ।’
मन्त्री दाहालले यातायात व्यवसायीहरुले बन्द गरिरहेको यातायातहरु सञ्चालन गर्नुपर्ने बताए। केही सवारी तथा सार्वजनिक यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबाट राइड शेयरिङलाई पनि राज्यको दायराभित्र ल्याउने उनले बताए ।