काठमाडौं । सत्तारूढ दलले संसद खुलाउन आग्रह गरेपछि प्रतिपक्षी दलहरुले आपसी छलफलमा जुटेका छन्। संसद भवन नयाँबानेश्वरमा प्रतिपक्षी दलहरूको बैठक बसिरहेको छ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालको कार्यकक्षमा आयोजित यो बैठकमा संविधानको रक्षा, गणतन्त्रको सुदृढीकरण र समसामयिक राजनीतिक मुद्दाहरूमा छलफल भइरहेको बताइएको छ।
हिजो यसबारे छलफल गर्नको लागि प्रचण्डसँग प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले पनि छलफल गरेका थिए । तर, विपक्षी प्रमुख प्रतिपक्षी नेता प्रचण्डले अडान छाडेनन् ।
बैठकमा माओवादीबाट प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाबाट कार्यवाहक सभापति डीपी अर्याल, संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, नेकपा एसबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, नेसपाबाट महेन्द्रराय यादवलगायत सहभागी छन् ।
यता संसद सन्चालनको विषयमा सभामुख देवराज घिमिरेले सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् ।
आजको संसद बैठक सञ्चालन गर्नुअघि सभामुख घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छुट्टै छलफल गरेका छन् ।