काठमाडाैं । कर्णाली डेभलपमेन्ट बैंकको करिब २ अर्ब ५० करोड ठगीको आरोप लागेका राजेन्द्रवीर राय भारतको लखनउबाट पक्राउ परेका छन् ।
कर्णाली विकास बैंकको अपचलनमा पक्राउ पुर्जी जारी भएपछि फरार रायलाई रुपन्देहीको बेलहियाबाट पक्राउ गरिएको सिआइबीले जानकारी दिएकाे भएपनि उनलाई भारतबाट पक्राउ गरिएको उच्च स्रोतको दाबी छ ।
उनी लखनउमा फ्ल्याट भाडामा लिएर श्रीमतीसहित बस्दै आएको स्रोतको दाबी छ । उनी अभयचन्द्र गुप्ताको छद्म नाममा त्यहाँ बसिरहेका थिए ।
रायले २०६० सालमा बाँकेमा कर्णाली डेभलपमेन्ट बैंक स्थापना गरेका पतइ। २०७६ देखि २०७९ सम्म उनले बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा काम गरे। तर, उनको नेतृत्वमा बैंकमा ठूलो आर्थिक अनियमितता भएको आरोप लाग्यो।
बैंकको ४ अर्ब ९० करोड रुपैयाँ अपचलन गरेको आरोपमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २०८२ साल जेठ १७ गते रुपन्देहीको बेलहिया नाकाबाट पक्राउ गरेको भनिएको छ ।
अनुसन्धान अनुसार, रायले आफ्नै कम्पनी बाँके केमिकल्सलाई दुई पटकमा १५ करोड रुपैयाँ ऋण प्रवाह गरेका थिए। पहिलो पटक २०७५ साल असोज ८ गते १२ करोड र दोस्रो पटक २०७७ साल असोज २८ गते ३ करोड रुपैयाँ ऋण दिइएको थियो । यी कार्यहरू बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा पर्छन्, र नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको छ।
रायलाई बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ। उक्त प्रकरणमा बैंकका पूर्व सिईओ दिनेशकुमार रावत, पूर्व वित्त विभाग प्रमुख वेदप्रकाश ठकुरी र हालका सिईओ तथा वित्त विभाग प्रमुख निरजविक्रम शाहसमेत अनुसन्धानको दायरामा तानिएका छन् ।