आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रतिपक्षी दलको ‘बटम लाइन’ गृहमन्त्री लेखकको राजीनामा

मंगलबार, जेष्ठ १३ २०८२

काठमाडौँ ।  संसद्का प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म प्रतिनिधिसभाको कारबाही अघि बढ्न नदिने अडान लिएको छ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरू गरेपछि सबै प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद वर्षमान पुनलाई बोल्ने समय दिएका थिए ।

सांसद पुनले यो हप्ताभर सार्वजनिक सञ्चारमाध्यममा त्रिुभवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमनमा ‘भिजिट भिसा’ मा भ्रष्टाचार भएको चर्चा चलेको उल्लेख गर्दै सामान्य नागरिक जो काम गर्न बाहिर जान्छन् उनीहरूलाई ५० लाखदेखि  तीन करोडसम्म उठाइएको भन्ने तथ्य आएको बताए ।

मुख्य आरोपी सहसचिव तीर्थराज भट्टराईलाई गृहमन्त्रीले नै त्यहाँ पठाएको आरोप लगाउँदै त्यस विषयमा अनुसन्धान हुनुपर्ने प्रतिपक्षी दलको माग छ । गृहमन्त्री रमेश लेखक कानुन र मानव अधिकार क्षेत्रबाट आएकाले र उनले यसअघि धेरै नेतामाथि नैतिकताको विषय उठाएकाले उनको राजीनामा माग गरे ।

“गृहमन्त्री लेखकको सचिवालय यसमा जोडिएकाले अनुसन्धान गर्ने निकाय सबै गृहमन्त्री मातहत रहेकाले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानका लागि मार्गप्रशस्त गरिदिनुपर्छ, उहाँले राजीनामा दिनुपर्छ, राजीनामा नआएसम्म संसद्को प्रक्रिया अघि बढ्दैन,” सांसद पुनले भने ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रीमाथि छानविन गर्न उच्चस्तरीय छानबिन आयोगको माग गरेको छ । रास्वपा सांसद शिशिर खनालले आयोग गठन नभएसम्म संसद चल्न नदिने घोषणा गरे ।

खनालले राजनीतिक संरक्षणमा नै विमानस्थलमा लुटको धन्दा चलाइएको आरोप लगाए । उनले भने, ‘कुनै निकायले प्रमाण जुटाउँदैछ भने प्रमाण जुटाउन दिने कि प्रमाण नष्ट गर्न उसलाई सरुवा गर्ने ? अनुसन्धान कर्मचारीमात्रै नभई गृहमन्त्रीको पनि गर्नुपर्छ । तर, प्रहरीबाट हुने अनुसन्धानमा हामीलाई शंका छ । विगतमा नक्कली भुटानी शरणार्थी प्रकरण दबाइएको छ । सहकारीको मुद्दामा रवि लामिछानेलाई तीन महिनामा हिरासतमा राखियो तर सत्ता पक्षका सांसदहरूलाई बोलाएर चिया खुवाएर पठाएको छ। अनि हामीले कसरी विश्वास गर्ने निष्पक्ष हुन्छ भनेर ?’

गृहमन्त्रीको राजीनामा माग्दै विपक्षीको नाराबाजीपछि प्रतिनिधि सभाको आजको बैठक आधा घण्टाका लागि स्थगित भएको छ।