आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

गृहमन्त्री लेखकमाथि हर्क साम्पाङको व्यंग्य : रविजीसँग जेलमा भेट हुन्छकी के हो ?

सोमबार, जेष्ठ १२ २०८२

काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले गृहमन्त्री रमेश लेखकमाथि व्यंग्य गरेका छन्।

मेयर राईले सामाजिक सञ्जालमार्फत गृहमन्त्री लेखकको भेट रास्वपा सभापति रवि लामिछानेसँग जेलमा हुन्छ कि भन्दै व्यंग्य गरेका हुन्।

उनले गृहमन्त्री लेखकले राजीनामा दिएर जेल जान तयार रहनु पर्ला जस्तो देखिएको बताएका छन्। मेयर राईले शान्ति सुरक्षा र सुशासनको ग्यारेण्टी दिने मुख्य मान्छे गृहमन्त्री भएकाले उनीहरू नै मानव तस्करी, सहकारी ठगीजस्ता प्रकरणमा जेल जानु दुःखद भएको उल्लेख गरेका छन्।

भिजिट भिसामा सेटिङ भएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा छापा मारेको थियो ।

छापा मार्ने क्रममा शङ्कास्पद लागेपछि अख्तियारले कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको थियो । अख्तियारले उनको मोबाइल र कम्प्युटरको डिभाइस अनुसन्धान गर्न ‘फरेन्सिक ल्याब’मा पठाएको छ ।

भट्टराईलाई अध्यागमन कार्यालयमा अख्तियारले कार्यालयमा छापा मार्नुभन्दा एक दिन अगाडि गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयमा तानेर पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई प्रमुख अध्यागमन अधिकृत बनाएर पठाइएको थियो ।

सोही प्रकरणमा गृहमन्त्रालयका उच्च पदाधिकारीको समेत हात हुनसक्ने भन्दै यतिबेला प्रतिपक्षी दलहरुले गृहमन्त्री लेखकले राजीनामा दिएर अनुसन्धानलाई सघाउनु पर्ने माग गरिरहेका छन् ।