काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गरेको छ ।
आज विहान बसेको पदाधिकारी बैठकले यो प्रकरणमा मन्त्री लेखकले राजीनामा दिएर अनुसन्धानलाई सघाउनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
बैठकपछि मिडियाकर्मीहरुसँगको कुराकानीमा सापकोटाले भने,‘हाम्रो पार्टीको आज बसेको बैठकले गहृमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ भन्ने निश्कर्ष निकालेको छ।’
यस प्रकरणमा गृहमन्त्रीले राजीनामा दिँदामात्रै पावरको दुरूपयोग हुन नपाउने आफूहरुको निष्कर्ष रहेको उनको भनाइ छ ।
यसअघि सोही प्रकरणमा विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पनि गृहमन्त्री लेखकको राजीनामा मागेको थियो ।
यता आजै बसेको कांग्रेस पदाधिकारी बैठकले भने भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको कुनै संलग्नता नरहेको दाबी गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा सोमबार बसेको पार्टी पदाधिकारी बैठकले गृहमन्त्री निर्दोष रहेको निष्कर्ष निकालेको हो ।