काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा दुई जनाको मृत्यु हुने गरी भएको हिंसात्मक प्रदर्शनको जिम्मेवारी मेडिकल व्यवसायी दुर्गा प्रसाईंको टाउकोमा हालेर राजावादीहरू अर्को आन्दोलनको तयारी गर्नेतर्फ अग्रसर छन्।
१५ चैतमा काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनमा पक्राउ परेकाहरूविरुद्ध मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले यहाँको तीनकुनेमा गत चैत १५ गते पूर्वराजाका समर्थकहरुले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा ६१ जनामाथि काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँले १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन गत बिहीबार बुझाएको थियो । शुक्रबार अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरिए पनि समय अभावका कारण नसकिएकाले आज उक्त घटनाको मुद्दा दर्ता भएको हो ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्लेले आज ६१ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको जानकारी दिएका छन् । कसुरका आधारमा उनीहरुलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराधलगायतका फरकफरक र संयुक्त मुद्दा चलाइएको छ ।
उक्त प्रकरणमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, राप्रपाका महामन्त्री धवलशमशेर जबरालगायत प्रतिवादी छन् । बालबालिकाको हकमा भने बालअदालतमा मुद्दा चलाइने जनाइएको छ ।
यो अनुसन्धानका प्रतिवादीले भने दुर्गा प्रसाईंलाई दोष देखाएर बयान दिएका छन् । रवीन्द्रदेखि धवल शमशेर राणा समेतले आफूहरू अथिति मात्रै रहेको र यसको सम्पूर्ण जिम्मा प्रसाईं रहेको संकेत गर्दै बयान दिएका छन् ।
राप्रपा महामन्त्रीसमेत रहेका जबराले तीनकुनेमा आयोजनामा गरिएको राजावादी पक्षको प्रदर्शन दुर्गा प्रसाईंले आयोजना गरेको बयान दिएका छन् । उनीविरुद्ध राज्य विरुद्धको कसुरसहित चारवटा मुद्दामा अभियोजन गरिएको छ । जबरालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा सजाय हुन माग दाबी लिइएको छ । अधिकार प्राप्त अधिकारीहरूसँगको बयानमा जबराले कार्यक्रमको योजना, व्यवस्थापन, सञ्चालन र खर्च व्यवस्थापनमा आफ्नो भूमिका नभएको जिकिर गरेका छन् ।
उनले कार्यक्रम आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी नभएको बताउँदै आफू र आफ्नो पार्टी हिंसात्मक प्रदर्शनको पक्षमा नरहेको जिकिर गरेका छन् ।
यता राजसंस्था फर्काउन भन्दै गरिएकाे आन्दोलनमा संयोजक समेत बनाइएकाे थियाे । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक ८६ वर्षीय बयोवृद्ध नवराज सुवेदीलाई तोकिएको थियो । प्रदर्शनकाे एक दिन अघि तीनकुनेको प्रदर्शनको जनकमान्डर भने प्रसाईंलाई तोकिएको थियो । यही विषयलाई अन्य आरोपीहरूले देखाउँदै सबै घटनाको दोष प्रसाईकै थाप्लोमा पर्ने गरी बयान दिएका छन् ।
कार्यक्रमको आयोजक प्रसाईं नै भएको र सबै व्यवस्थापन उनैले गरेकाले यसको जिम्मेवारी उनैले लिनुपर्ने आसयको बयान उनीहरुले दिएका छन् ।
यता प्रदर्शनमा जनकमाण्डर तोकिएका प्रसाईंले भने आफू तीनकुने पुग्नुअगावै कार्यक्रम स्टेजमा टियरग्यास र गोली चलेर भागदौड भएको जिकिर गरेका छन् ।
सरकारी वकिलको रोहबरमा प्रहरीलाई दिएको बयानमा प्रसाईंले भनेका छन्, ‘म कार्यक्रमस्थलमा आउनुभन्दा अघि नै अतिथिहरुलाई आसनग्रहण गराइ कार्यक्रम सुरु भइ राष्ट्रिय गान बज्न थालेपछि स्टेजमै टियरग्याँस र गोलीहरू चलेर मान्छेहरू भागदौड भइसकेको थियो, त्यस कारण कार्यक्रमस्थलमा मेरो कुनै भूमिका पनि भएन ।’ प्रहरीसमक्ष उनले उक्त दिनको आन्दोलनको जनकमाण्डर बनेर आफूले कार्यविभाजन मात्रै गरेको बताएका छन् ।