पोखरा । पोखरामा जारी युवा संघको १०औँ राष्ट्रिय अधिवेशनमा दुई प्यानल नै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
हालका अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो । नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । मतदानको समय बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म तोकिएको छ । तर, उम्मेदवारको प्रारम्भिक सूची ढिला आएको र दाबीविरोध बाँकी रहेकाले मतदानको समय धकेलिने निर्वाचन समितिले जनाएको छ ।
संघको नेतृत्व, पदाधिकारी र सदस्यमासमेत गरी १९९ जनाको उम्मेदवारी परेको छ । पदाधिकारी ९ जनासति १ सय ५१ जनाको केन्द्रीय समिति, ४ वटा विभागमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरेर १६३ पदमा ३९९ जनाको उम्मेदवारी परेको हो ।
शुक्रबारदेखिको सर्वसम्मत गर्ने रस्साकस्सी विफल भएपछि प्रतिनिधिको दबाबबीच आइतबार उम्मेदवारी मनोनयन भएको थियो । अध्यक्षमा क्षितिज थेबेलाई नै दोहो¥याउन प्रयास गरिएपनि निवर्तमान सुमन पुरी पछाडि नहट्दा प्यानल नै मतदानमा जाने गरी मनोनयन भएको हो ।
क्षितिजको पक्षबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन् । महासचिवमा महेश चौलागाई र उपमहासचिवमा उपेन्द्र शाहीको उम्मेदवारी परेको छ ।
क्षितिजको प्यानलबाट खुला सचिव मदन भण्डारी, देबु बस्नेत, महिला सचिवमा निशा लिम्बू र मधेशी सचिवमा मोबिन आलमले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, आयोग अध्यक्षहरूमा लेखा आयोगमा किसुन जैशी, निर्वाचन आयोग मदन गिरी, अनुसशान आयोगमा मोहम्मद मिजाम र युवा विज्ञ परिषदमा चीन लामा तय भएका छन् ।
यता पुरीको टीमबाट उपाध्यक्षमा पर्वत भण्डारी र प्रकाश गौतमको उम्मेदवारी दिएका छन् भने महासचिवमा कुवेर अधिकारी र उपमहासचिवमा खेमराज शर्मा उम्मेदवार बनेका छन् ।
त्यस्तै सचिवमा खुलातर्फ ध्रुव खड्का र अरुण कुँवरको उम्मेदवारी परेको छ भने महिला सचिवमा रेशु तामाङ र मधेशीतर्फ चितरन्जन यादवले उम्मेदवारी दिएका छन् ।
पुरीको प्यानलबाट आयोग अध्यक्षतर्फ निर्वाचन आयोगमा शिव रिमाल, लेखा आयोगमा विक्रम गुरुङ, अनुसशान आयोगमा अजयजंग शाही र युवा विज्ञ परिषदको अध्यक्षमा मोदनाथ सिलवाल सन्तोषको उम्मेदवारी परेको छ ।