प्रसाईंलाई पाँचवटा अभियोग
काठमाडौँ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले यहाँको तीनकुनेमा गत चैत १५ गते पूर्वराजाका समर्थकहरुले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा ६१ जनामाथि काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन गत बिहीबार बुझाएको थियो । शुक्रबार अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरिए पनि समय अभावका कारण नसकिएकाले आइतबार उक्त घटनाको मुद्दा दर्ता भएको हो ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्लेले ६१ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको जानकारी दिए ।
कसुरका आधारमा उनीहरुलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराधलगायतका फरकफरक र संयुक्त मुद्दा चलाइएको छ ।
उक्त प्रकरणमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, राप्रपाका महामन्त्री धवलशमशेर जबरालगायत प्रतिवादी छन् । बालबालिकाको हकमा भने बालअदालतमा मुद्दा चलाइने जनाइएको छ ।
तीमध्ये प्रसाईंसहित ८ जनालाई आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधमा पनि विपक्षी बनाइएको छ ।
मिश्र र महामन्त्री शमशेर राणालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधमा प्रतिवादी बनाएर मुद्दा अदालतमा लगिएको छ ।
गत चैत १५ गते तीनकुनेमा राजावादी समूहले गरेको विरोध प्रदर्शन हिंसात्मक झडप हुँदा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनले ज्यान गुमाएका थिए ।
त्यसबेला राजावादी प्रदर्शनकारीले निजी घर, व्यवसायिक संस्था र सरकारी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गरेका थिए । त्यसपछि प्रहरीले कम्तीमा २ सय जनालाई पक्राउ गरेको थियो । जसमध्ये प्रसाईंसहितका अभियुक्तहरू हिरासतमै छन् ।