काठमाडौं । गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता गरेको प्रमाणित गरे राजनीतिबाटै राजीनामा दिने बताएका छन्।
सिंहदरबारमा शनिवार साँझ सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो घोषणा गरेका हुन्।
उनले आफ्नो बिरुद्धमा नियोजित र षड्यन्त्रमुलक ढंगबाट झुटो प्रचारबाजी भइरहेको बताए । उनले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै नभइ आफ्नो सार्वजनिक र राजनीतिक जीवनमा पनि एउटा मात्रै आर्थिक अनियमितता गरेको कसैले प्रमाणित गरे पदबाट मात्र नभइ राजनीतिबाटै राजीनामा दिने बताए ।
आफूबिरुद्ध प्रश्न उठेकाले १३ गतेको प्रतिनिध सभामा आफूले समय माग गरेको र त्यही बेला पूरा जानकारी गराउने बताए । गृह मन्त्रालय लाखौँको संख्यामा कर्मचारी रहेको र कर्मचारीमाथि प्रश्न उठ्दा मन्त्रीहरुले राजीनामा दिँदै जान सम्भव नरहेको स्पष्ट पारे ।
गृहमन्त्री लेखकले भने, ‘मेरा बिरुद्धमा नियोजित र षड्यन्त्रमुलक ढंगबाट झुटो प्रचारबाजी भइरहेको छ । म सबैलाई के आग्रह गर्न चाहन्छु भने त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन । मेरो सार्वजनिक जीवनमा, राजनीतिक जीवनमा यदी एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको कसैले प्रमाणित गर्यो भने, प्रमाणित भयो भने म पदबाट होइन, राजनीतिबाट राजीनामा दिन्छु । १३ गते सम्मानित सदन प्रतिनिधि सभामा बोल्नका लागि मैले समय माग गरिसकेको छु, अरु विस्तृत कुरा म प्रतिनिधि सभामा आग्रह गर्दछु । गृह मन्त्रालय यत्रो ठूलो मन्त्रालय छ, लाखौँ लाख कर्मचारी छ । त्यसमा संवैधानिक निकाय अनुसन्धान गर्नका लागि सक्षम निकायले कुनैपनि बेला कुनैपनि कर्मचारीमाथि अनुसन्धान शुरु गर्नसक्छ । कुनैपनि कर्मचारीका माथि अनुसन्धान शुरु हुँदा सबै मन्त्रीहरुले राजीनामा दिँदै जाने हो ? के त्यही पद्धति बसाउने हो ? त्यो सम्भव छ ? आजसम्म त्यस्तो भएको छ । मेराबिरुद्ध राजनीतिक रुपले, नियोजित रुपले षड्यन्त्रमुलक ढंगले झुटो प्रचारबाजी भइरहेको छ ।’
गृहमन्त्री लेखकले आफ्ना बिरुद्धमा राजनीतिक, नियोजित, षड्यन्त्रमुलक ढंगबाट झुटो प्रचारबाजी भइरहेको बताए ।
अध्यागमन ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्रीको नाम जोडिए पछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गृहमन्त्रीको राजीनामा मागेको छ भने उनकै दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालालले लेखकले छानबिन समिति बनाएर सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताएका छन् । त्यतिञ्जेल पदबाट राजीनामा दिए राम्रो सन्देश जाने उनको जिकिर थियो ।
भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयले भने विज्ञप्ति नै निकालेर प्रतिवाद गरेको छ । गृह मन्त्रालयले अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएका समाचार एवम् क्रियाप्रतिक्रिया प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालय र नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको दाबी गरेको छ ।
‘यस्ता कुनैपनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं । साथै, विषयको गम्भीरतालाई मध्यनजर गरी सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गरिदिनु हुन सबैमा अनुरोध गर्दछौं ।’ विज्ञप्तिमा भनिएकाे छ ।
मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्नका लागि गृह प्रशासन निरन्तर क्रियाशील रहेको विज्ञप्तिमा उल्लेख छ । ‘पछिल्लो समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको काम कारवाहीका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको हुँदा अनुसन्धान कार्य पूरा भएपछि सत्यतथ्य व्यहोरा सबैको जानकारीमा आउने नै छ । आयोगबाट हुने छानविन तथा अनुसन्धान सम्बन्धी कार्यमा मन्त्रालयको पूर्ण सहयोग रहने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।’ विज्ञप्तिमा उल्लेख छ ।