काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईप्रति कटाक्षपूर्ण टिप्पणी गरेका छन् ।
रुकुमपूर्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बाबुरामलाई मान्छेले ‘बुद्धि नभएको डाक्टर’ भनेर चिन्ने गरेको टिप्पणी गरेका हुन् ।
उनले भने, ‘बाबुरामसँग हामीले एकता गर्ने भनेकै हो नि ! गोरखामा चुनाव लड्दा हाम्रो नारायणकाजी कमरेड, म, बाबुरामले लहै अब चाहिँ यो चुनावमात्रै होइन अब पार्टी पनि एउटै बनाउने भनिएको थियो । तर, उहाँले पछि कम्युनिष्टको नाम सुन्न चाहनुहुन्न । कम्युनिष्ट पार्टी नाम राख्ने हो भने म त एकता गर्दिनँ भनेपछि अब हामी के मर्ने ? बाबुरामको लागि ?’
उनले कम्युनिष्ट पार्टी नभन्ने, मार्क्सवाद नभन्नेसँग के गरी एकता गर्ने ? भन्दै प्रश्न गरे ।
‘अब उहाँ खिइँदै खिइँदै पुरै प्रतिक्रियावादीसँग मिल्नुभएको छ । प्रतिक्रियावादीले पनि पत्याउँदैन आजकल’, प्रचण्डले कटाक्ष गरे, ‘हाँसोको पात्र भएका छन् बाबुराम । कस्तो बुद्धि नभएको डाक्टर ? सबभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले ।’
उनले बाबुरामसँग भएका गङ्गानारायण श्रेष्ठलगायतका थुप्रै भ्रममा परेर गएका सबै फर्किने तयारीमा रहेको बताए ।
प्रचण्डले थपे, ‘यो एकता होइन त ? अब बाबुरामलाई के गरी ल्याउने अब ? उनको दिमाग चाहिँ ठाउँमा हुन पर्यो र पो ल्याउन सकिन्छ। सबै एकता भनेर निरपेक्ष एकता भन्ने हुँदैन । त्यो सापेक्ष हुन्छ ।’