हाजिर हुनेगरी छाडियो सहसचिव भट्टराईलाई
काठमाडौं । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा लिएका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई बिहीबार उपस्थित हुनेगरी छाडिएको छ ।
बुधबार दिउँसो आयोगले भट्टराईलाई नियन्त्रणमा लिएको थियो । उनलाई आज कार्यालय समयमा उपस्थित हुने शर्तमा छाडिएको स्रोतको बतायो ।
त्रिवि अध्यागमन कार्यालयका प्रमुख भट्टराईको साथबाट बरामद भएको फोन भने प्राविधिक परीक्षणका लागि भन्दै अख्तियारले नियन्त्रणमा लिएको छ । मानव तस्करी तथा सेवाग्राहीसँग घुस लिएको उजुरी परेपछि अख्तियारले भट्टराईलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेलगत्तै भट्टराईलाई टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा लगिएको थियो ।
अन्तर्राष्ट्रिय विमानस्थलमार्फत सेटिङ मिलाउँदै भिजिट भिसामा विभिन्न व्यक्तिहरूलाई विदेश पठाउने काममा उनी संलग्न रहेको पाएपछि अख्तियारले पक्राउ गरेको थियो ।
फर्जी कागजातका आधारमा पठाउने कार्यमा उनको पनि संलग्नता रहेको अख्तियार स्रोतको दावी छ ।
भट्टराईको मानव तस्करसँग साँठगाँठ भइरहेको उजुरी अख्तियारमा परेको थाहा पाउनेबित्तिकै गृहमन्त्री रमेश लेखकले भट्टराईलाई तत्काल नै एकल सरुवा गरेको बुझिएको छ ।
अध्यागमन कार्यालयबाट वैदेशिक रोजगारीमा यूएई र साउदी अरेबियामा भिजिट भिसामा पठाएवापत प्रतिव्यक्ति ५० देखि ७५ हजारसम्म, युरोपियन मुलुक माल्टा, पोर्चुगललगायतका देशमा पठाएवापत ३ देखि ४ लाख रुपैयाँसम्म अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीले उठाउने गरेको उजुरी आयोगमा छ ।
यसअघि उपत्यका अपराध अनुसन्धान कार्यालयले समेत फर्जी कागजातका आधारमा लेनदेनमा भिजिट भिसामा विदेश पठाएको आरोपमा कार्यालयका अधिकृतहरूलाई पक्राउ गरेको थियो । त्यसबेला नरविर खड्कालाई प्रहरीले विमानस्थलबाहिर होटल बाल्टिकबाट नगदसहित पक्राउ गरेको थियो । त्यसक्रममा ६६ जना युवाको सूची समेत फेला परेको थियो ।