काठमाडौं । नेपाली कांग्रेसका नेता लोकेश ढकालले कांग्रेस सभापति शेरबहादुर देउवाले संवैधानिक राजसंस्थाबारे नकारात्मक नरहेको खुलासा गरेका छन् ।
देउवाले हृदयेन्द्र वीरविक्रम शाह राजा बनेमा आफ्नो समर्थन रहने सन्देश राजसंस्था पुनःस्थापना आन्दोलनसमक्ष पठाएको कांग्रेस नेता ढकालले दाबी गरेका छन् ।
राजावादीहरुले राजसंस्था पुनःस्थापनाको आन्दोलन चर्काउने उद्घोष गरिरहेका बेला प्राइम टेलिभिजनको एक अन्तर्वार्तामा कांग्रेस नेता ढकालले यस्तो खुलासा गरेका हुन् ।
यस्तै नेता ढकालले कांग्रेस नेता शेखर कोइराला पनि हिन्दु राष्ट्र र राजासहितको संवैधानिक व्यवस्थाका लागि जनमत संग्रहमा जान तयार रहेको अभिव्यक्ति दिनुले कांग्रेसका नेताहरूमा पनि कुनै समयमा गल्ती भएको र पछिल्लो समयमा राजासहितको प्रजातन्त्रको पक्षमा जान तयार रहेको बताएका छन् ।
नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले लिएको संवैधानिक राजतन्त्र र नेपाली कांग्रेस तथा प्रजातान्त्रिक शक्तिहरुबीचको सहकार्यले मात्र मुलुकको स्वतन्त्र हैसियत र प्रजातन्त्र सुनिश्चित गर्ने ढकालको भनाइ छ ।
नेता ढकालले चैत्र १५ गते तीनकुनेको घटना सरकारपक्षको कारण हिंसा भड्किएको आरोप लगाएका छन् ।सरकारले ब्यापक रुपमा शक्ति प्रयोग गरे कै कारण उक्त घटना हुन पुगेको ढकालको आरोप छ । सो घटनामा छानविन आयोग गठन नगरेर सरकारले गल्ती गरेको उनको भनाइ थियो ।
पछिल्लो समय राजनीतिक दलहरुले गल्ती गरेका कारण देश नै संकटमा पुगेको उनको धारणा छ ।
तीन दलका नेताले फास्ट ट्राकमा ल्याएको वर्तमान संविधान भित्र गल्ती कमजोरी रहेको बताउँदै ढकालले विगतमा जनमत संग्रहबाट नभै दलका नेताको आन्तरिक सहमतिबाट नै संविधानमा धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र, निर्वाचन प्रणाली लगायत समावेश गरिएको बताए ।
साथै अहिले पनि नेपाली काँग्रेस अग्रसर भएर राजनीतिक सहमतिमा संसदबाट नै जनभावना अनुसार संविधान संशोधन गर्न सकिने उनको भनाइ छ ।
ढकालले राजसंस्था पुनःस्थापनाको आन्दोलनमा आफ्नो समर्थन रहने पनि बताए ।