आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

राजनीति बुझेकी छु तर राजनीतिमा आउँदिन, सबैमा स्पष्ट होस्: राधिका शाक्य

मंगलबार, जेष्ठ ६ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले पदमा रहँदा दुरुपयोग गरी कुनै पनि आफन्तलाई अवसर दिएको प्रमाण भए सार्वजनिक गर्न चुनौती दिएकी छन् ।

उनले त्यस्तो गरेको भए प्रमाण ल्याएर आफूहरूलाई गलत सावित गरिदिन भनेकी हुन्। प्रेस चौतारी नेपालले उनीद्वारा लिखित दोस्रो पुस्तक ‘करुणा’बारे सम्पादकहरूसँग आयोजना गरेको सम्वादमा शाक्यले यस्तो आग्रह गरिन् ।

सम्पादकहरूसँगको संवादमा करुणाकी लेखिका शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली राज्यको विभिन्न पदमा हुँदा कोही नातागोता, आफन्तलाई पदको दुरुपयोग गरी भर्ना नगरिएको र अनुचित सुविधा नदिइएको बताइन् ।

‘केपी सर पदमा रहँदा, मन्त्री, प्रधानमन्त्री हुँदा कोही आफन्त वा नातागोतालाई अवसर दिइएको वा कतै लगाएको छैन’, उनले भनिन्, ‘हामीबाट त्यो कुरा भएको देखेर मेरो कुरा गलत लाग्छ भने तपाईंहरूले प्रमाण सार्वजनिक गरिदिनुस ।’

उनले आफू कडा स्वभावको भएकै कारण कसैले कुनै माग र आकांक्षा लिएर नआउने बताइन् । प्रधानमन्त्री ओलीले पनि त्यस्तो काममा लागिन्न भन्ने प्रष्टै जवाफ दिने गरेको उनले बताइन् ।

मसँग त त्यस्तो माग लिएर कोही आउँदैनन् । मैले केही गर्दिनँ भन्ने पनि थाहा छ, म कडा छु भन्ने थाहा छ सबैलाई,’ शाक्यले भनिन्, ‘हामीतिर आउन मान्छे खोज्दै हिँड्दा रहेछन् । भित्र जान सकिन्छ कि भनेर खोज्ने रहेछन, मेरा बहिनीहरू त्यसको मारमा धेरैपटक परेका छन् ।’

उनले घरतिरका भन्दा पनि आफ्ना माइती पक्षकाहरूलाई विभिन्न स्वार्थ बोकेका मानिसले त्यसरी दुःख दिन आउने गरेको घटना सुनाइन् ।

मानिसहरूले पहुँच बनाइदि कान्छी बहिनी–ज्वाइँलाई दुःख दिएकै कारण गाउँ छाडेर अर्को गाउँमा गएर बस्नु परेको घटना पनि शाक्यले सुनाइन् ।

‘हाम्रा नातागोतालाई कहीँ–कतै सानो ठूलो पावरमा भएको हैसियतले राखिदिएको, केही गरिदिएको भेट्न सक्नुहुन्छ भने खोज्नुस, भेटे भन्नोस, म तपाईंहरूलाई अनुरोध गर्छु,’ शाक्यले थपिन्, ‘एकजना कोही मान्छेलाई पनि एउटा सानो पदमा भर्ना गरेको छैन ।’

शाक्यले आफूहरूले पदको दुरुपयोग नगरे पनि बाहिर सबै उस्तै होलान् भनेर आक्षेप लगाउने गरेको बताइन् । उनले त्यो घटनाको एउटा प्रमाण आफ्नै बहिनी रहेको बताइन् ।केपी ओलीले सबै नातागोतालाई गाडी सुविधा दिएको भनेर कान्छी बहिनीलाई ट्याक्सी चालकले सुनाएको उल्लेख गर्दै उनले अनेक आक्षेप लगाएको घटना आफूलाई बहिनीले बताएको पनि उल्लेख गरिन् ।

‘मेरी कान्छी बहिनी नर्स हो, प्रसूति अस्पतालको स्टाफ नर्स, साँझ क्लिनिकमा पनि काम गर्ने गरेकी रहिछन् । एकदिन ट्याक्सी चढेर क्लिनिक गइछन्,’ शाक्यले सुनाइन्, ‘ट्याक्सी चालकले बाटोमा राजनीतिबारे चर्चा गर्दै केपी ओली यस्तो–उस्तो अनेक कुरा भनेछन् । ओलीले नाता–गोतामात्र हेर्छ, आफन्तलाई गाडी र अरू सुविधा दिने ट्याक्सी चालकले भनेछन् । त्यो सुनेर बहिनीलाई खुब रिस उठेछ ।’

भाडाको ट्याक्सी चढ्दा पनि ओलीले आफन्तलाई गाडी–सुविधा दिएको भनेको सुन्दा बहिनीलाई रिस उठेको सुनाउँदै उनले थपिन्, ‘रिसको पारा चढेपछि ट्याक्सीबाट झर्ने बेलामा चालकलाई बहिनीले मै हो साली केपीको, गाडी सुविधा दिएको भए तपाईंको ट्याक्सी चढ्थेँ, भनेर जवाफ फर्काइछन् ।’