आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

हिमाल करोडौँ मानिसको ताजा पानीको स्रोत : परराष्ट्रमन्त्री

'हामी जलवायु परिवर्तनका नकारात्मक असरहरूको भारी र असमान बोझ सामना गर्न बाध्य छौँ'

शुक्रबार, जेष्ठ २ २०८२

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हिमालहरु मानव जातिका साझा स्रोत भएका बताएकी छन् । ।

‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयमा पहिलोपटक आज यहाँ आयोजित ‘सगरमाथा संवाद’को उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै उनले हिमाल करोडौँ मानिसको ताजा पानीको स्रोत बनेको बताइन् । हिमालयले आज जलवायु प्रेरित अवरोधको सबैभन्दा ठूलो भार बोकिरहेको बताउँदै उनले हिमनदी जलवायुको असरका कारण पग्लिने क्रम तीव्र रुपमा बढेको उल्लेख गरिन् । यसले गर्दा हिमाली समुदायको दैनिक जीवनमा नकारात्मक प्रभाव परेको उनको भनाइ थियो ।

“जलवायु प्रेरित प्रकोपहरूले मानव अस्तित्व र जीविकोपार्जनको जगलाई नै हल्लाइरहेको छ” उनले भनिन्, “जलवायु परिवर्तनका कारण बाढी र हिमताल विस्फोटले ठूलो विनाश भएको छ । खडेरी डढेलोले मानवलाई अथाह पीडा दिएको छ ।”

मन्त्री डा राणाले यो संवाद मनन र आत्मनिरीक्षण गर्ने अवसर प्रदान गर्ने र हिमालदेखि समुद्रसम्म तथा उत्तरीदेखि दक्षिणी गोलाद्र्धसम्म जलवायुजन्य विपत्ति रोक्ने प्रयास भएको बताइन्। उनले नाजुक हिमाली पारिस्थितिक प्रणाली भएको देश नेपालले जलवायु परिवर्तनको मार खेपिरहेको जानकारी गराइन् । “हाम्रा नदी, वन र हिमालहरूको सचेत संरक्षकको रूपमा, हामीले पृथ्वीको स्वास्थ्यमा आफ्नो क्षमताभन्दा बढी योगदान गरिरहेका छौं । तर, हामी जलवायु परिवर्तनका नकारात्मक असरहरूको भारी र असमान बोझ सामना गर्न बाध्य छौँ”, मन्त्री डा राणाले भनिन् ।

“जलवायु परिवर्तन राष्ट्रिय सीमाहरू पार गर्ने विश्वव्यापी सङ्कट हो । जलवायु परिवर्तनले आफ्नो मार्गमा ल्याउने अस्तित्वजन्य सङ्कटमा न्याय र ऐक्यबद्धतामा आधारित विश्वव्यापी गठबन्धनभन्दा कमले कुनै प्रभाव पार्ने आशा गर्न सकिँदैन,” उनले भनिन्, “त्यसैले, हामी सङ्कटमा परेका देशहरूले सजिलै पहुँच गर्न सक्ने पर्याप्त र प्रभाावकारी क्षति र नोक्सानी कोषको लागि आह्वान गर्दछौँ ।”

नेपालजस्ता देशहरूको जोखिमलाई विश्वले स्वीकार गर्नुपर्ने र जलवायु वित्त, अनुकूलन सहयोग र प्रविधि हस्तान्तरणको प्रावधानमार्फत लक्षित न्यूनीकरण र अनुकूलन रणनीतिहरूलाई समर्थन गर्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री डा राणाले यो मञ्चले जलवायु परिवर्तन र क्षेत्रीय र अन्तरराष्ट्रिय शान्ति, सुरक्षा र स्थिरता बीचको सम्बन्ध, साथै बसाइँसराइ, खाद्य सुरक्षा, मानवीय संकट र प्रकोप जोखिमहरूमा जलवायु परिवर्तनको प्रभावहरूमा विचार गर्ने अवसर प्रदान गर्ने उल्लेख गरिन् ।

उनले यो संवादले जलवायु परिवर्तनको खतरा र मानव जातिको भविष्यको अस्तित्वजन्य खतराको सामना गर्न नयाँ विचारहरूलाई उत्प्रेरित गर्न, सहयोगलाई बढावा दिन र ठूलो राजनीतिक इच्छाशक्तिलाई परिचालन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।