काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले टेरामक्स घोटालामा काँग्रेस नेता बस्नेत संलग्न भएको उल्लेख गर्दै बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
बस्नेत २०७४ सालमा सञ्चारमन्त्री हुँदा टेरामक्स घोटाला प्रकरणमा संलग्न रहेको आरोपमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
योसँगै वहालवाला सांसदसमेत रहेका बस्नेतको सांसद पद धरापमा परेको छ । भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार भ्रष्टाचार मुद्दा लागेपछि सांसद पद स्वतः निलम्बन हुने उल्लेख छ ।
अब अख्तियारले संसद् सचिवालयलाई पत्रमार्फत जानकारी गराउनु पर्नेछ । त्यसपछिको संसद् बैठकमा सभामुख देवराज घिमिरेले सांसद बस्नेतको पद निलम्बन भएको पत्र पढेर सुनाउनेछन् ।
बस्नेत २०७९ को चुनावमा सिन्धुपाल्चोक २ बाट निर्वाचित सांसद हुन् ।
अख्तियारले बस्नेतविरुद्ध ३ अर्ब २१ करोड बिगो दाबी गरेको छ । बस्नेतसहित १६ जना र २ कम्पनीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।
बस्नेतसहित दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, पुरुषोत्तम खनालसमेतलाई मुद्दा दायर गरिएको छ ।
उनीहरूसँग ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रूपैयाँ बिगो दाबी गरिएको छ ।