आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कामु गर्भनर निलम ढुङ्गानालाई नै राष्ट्र बैंकको नेतृत्व दिन माग

बुधबार, बैशाख ३१ २०८२

काठमाडौं । कामु गर्भनर निलम ढुङ्गानालाई नै राष्ट्र बैंकको नेतृत्व दिन संसदमा आवाज उठेको छ । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद रोशन कार्कीले नेपाल राष्ट्र बैंकको गभर्नर पद लिलामीमा नराख्न सरकारलाई सुझाव दिँदै यस्ताे धारणा राखेकी हुन् ।

आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले अब उक्त पद लिलामीमा नराखी कायममुकायम गभर्नरलाई नेतृत्व दिन सरकारलाई आग्रह गरिन् ।

‘राष्ट्र बैंकको गभर्नको पद लिलामीमा चढेको छ रे । लिलामीको बढाबढमा तीन करोड रुपैयाँ नाघिसक्यो रे । विगतमा हामीहरुले महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश, महिला सभामुख पाएका थियौं । उहाँहरुको कार्यकाल सफल र प्रसंशायोग्य थियो । कार्यवाहक गभर्नर निलम ढुङ्गानालाई नै राष्ट्र बैंकको नेतृत्व दिऊँ,’– उनले भनिन् ।

ढुङ्गानालाई राष्ट्र बैंकको नेतृत्व सुम्पिँदा ५२ प्रतिशत महिलाहरुमाथि न्याय हुने उनको भनाइ थियो ।

यता उता नगरी यस पटक महिलालाई गभर्नर बनाउन उनले आग्रह गरिन् ।

यता माओवादी केन्द्रकी सांसद रेखा शर्माले सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसक्दा मुलुककै बेइज्जत भएको बताइन् ।

उनले दुई तिहाईको बलियो सरकारले गभर्नर नियुक्त गर्न नसक्नु दलको स्वार्थ नमिलेको कारण रहेको बताइन् ।

उनले राष्ट्रको बेइज्जत नगर्न र सक्षम तथा योग्य व्यक्तिलाई गभर्नर बनाउन सरकारलाई आग्रहसमेत गरिन् ।

अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन्।