काठमाडौं । विश्व पौडेलले गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका छन्। उनले आइतबार समितिका संयोजक तथा अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएका हुन्।
अर्थ मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार विश्व पौडेलले अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा पठाइसकेका छन्।
उनलाई चैत दोश्रो साता राष्ट्र बैंकको १८ औं गभर्नर सिफारिस समितिको सदस्य पदमा नियुक्त गरिएको थियो । तर, गभर्नर सिफारिस समितिको एउटा पनि बैठक नबसी उनी सदस्यबाट विदा भएका हुन् । यसअघि गभर्नर नियुक्तिका लागि कांग्रेसले राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा गरेका डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो ।
तर, भट्टको राजीनामा कामू गभर्नर निलम ढुंगानाले स्वीकृत नगरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा पछि हटेका थिए ।
नेपाली कांग्रेसले गभर्नरमा पौडेललाई सिफारिस गर्न प्रस्ताव गरेसँगै उनको राजीनामा आएको छ। तर, गभर्नर पदमा उनको दावेदारीलाई कानूनतः अयोग्य रहने छ । नेपाल राष्ट्र बैङ्क ऐनमा कुनै राजनीतिक दलमा सदस्य नभएको व्यक्ति मात्रै गभर्नर बन्नसक्ने भनेर स्पष्ट उल्लेख छ ।
नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा २१ मा गभर्नर, डेपुटी गभर्नर र सञ्चालक बन्नका लागि योग्य नहुने सातवटा अवस्थाहरु राखिएका छन्, जसको पहिलो उपदफामा भनिएको छ राजनीतिक दलको सदस्य वा पदाधिकारी । अर्थात्, कुनै पनि दलको सदस्य वा पदाधिकारी रहेको व्यक्ति गभर्नर बन्न योग्य हुने छैन । कांग्रेस कोटाबाट गर्भनर बन्न लागेका पौडेल आजका दिनसम्म पनि कांग्रेसमा छन् । उनी कांग्रेसको कोटाबाट नयाँ गभर्नर सिफारिस समितिका सदस्य बनेका थिए।

यसअघि समितिकै अर्का सदस्य राष्ट्र बैंकको पूर्वगभर्नरसमेत रहेका डा. विजयनाथ भट्टराईले पनि समिति छाडेका थिए । सरकारले नयाँ सिफारिस समिति गठन गर्ने तयारी समेत थालिसकेको छ ।
क्रियाशील सदस्यता नै लिई नियमित नवीकरण गर्दै आएका पौडेल हाल पार्टीको महासमिति सदस्य समेत हुन् । उनी संसदीय निर्वाचनमा चितवन क्षेत्र नम्बर १ बाट कांग्रेसबाट टिकट पाएका थिए । तर हारे, कांग्रेसका सक्रिय कार्यकर्ता, महासमिति सदस्य र चुनाव नै हारेका उम्मेद्वारलाई नेपाल राष्ट्रबैंकजस्तो स्वायत्त निकायको नेतृत्व जिम्मा लगाउने चर्चा पछि पार्टीका नेताहरुबाटै यसको विरोध गरिरहेका छन् ।
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएको चैत २४ गतेयता राष्ट्र बैंक नेतृत्वविहीन छ । वरिष्ठ डेपुटी गभर्नर नीलम शर्मा ढुङ्गानाले कायम मुकायम चलाइरहेकी छिन् ।
पौडेलको नाममा यसरी भएको थियो सहमति
शनिबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस र एमालेका शीर्ष नेताको बैठकले विश्व पौडेललाई गभर्नरमा सिफारिस गर्ने निष्कर्ष निकालेका थिए ।
पौडेल अहिले गभर्नर सिफारिश समितिका विज्ञ सल्लाहकारको रुपमा छन् । यसअघि देउवाले गभर्नरको लागि राष्ट्र बैंकमा निर्देशकको रुपमा काम गरिरहेका डा गुणाकर भट्टको नाम अघि सारेका थिए ।
तर, उनको राजीनामा स्वीकृत नहुँदा अहिलेसम्म नियुक्ती प्रक्रियामा नै सरकार पुग्न सकेको छैन । डेपुटी गभर्नर निलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगर्दा समस्या उत्पन्न भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाबीचको भेटवार्तामा गभर्नर कांग्रेसले अघि सारेको व्यक्ति बनाउनेबारे सहमति भएको बताईन्छ ।