काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज, लुम्बिनी जाँदैछन् । २५६९ औं बुद्धजयन्तीको कार्यक्रममा सहभागी हुन ओली लुम्बिनी जान लागेका हुन् ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । लुम्बिनी विकास कोषले बुद्ध जयन्ती तथा लुम्बिनी दिवसमा प्रधानमन्त्री ओली, लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसहित संघीय सरकारका मन्त्री, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि सहभागी हुने कार्यक्रम रहेको जनाएको छ ।
यसका लागि लुम्बिनीलाई झकिझकाउ बनाइएको छ ।
तीनदिने कार्यक्रमअन्तर्गत वैशाख २८ गते साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ सम्पन्न भएको छ । बुद्धजयन्तीको मुल कार्यक्रम अघि आज भिक्षु भिक्षुणी, लामा गुरुहरु तथा उपासक उपासिकाहरुको सहभागितामा प्रार्थनासभा र शोभायात्रा हुनेछ ।