काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गतको दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरका सब-इन्जिनियर कुमार पौड्यालविरुद्ध विशेष अदालतमा गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा सब–इन्जिनियर पौड्यालविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीविरुद्ध ३ करोड ६३ लाख २१ हजार २०७ रुपैयाँ भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको छ ।
उनले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अख्तियारले जनाएको छ ।
पौडेलले मिति २०५१ वैशाख ९ देखि २०८० असार ३१ गतेसम्मको अवधिमा तलब, भत्ता, उनी र परिवारको नाममा रहेको जग्गा बिक्री आय, बीमा र छोराछोरीको पारिश्रमिकसमेत वैध आय २ करोड ५८ लाख ९७ हजार ३२४ रूपैयाँ देखिएको र घर निर्माण, जग्गा खरिद, अध्ययन खर्च, पिस ब्याङकुट एण्ड रेष्टुरेन्टमा लगानी, सवारीसाधन खरिद, शेयर, ऋण सापटी, सुनलगायतको खर्च ६ लाख २२ लाख १८ हजार ५३२ रूपैयाँ देखिएकाले साढे ३ करोड बढी रकम गैर कानूनीरूपमा कमाएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
पौडेलले पदमा रहँदा अवैधरूपमा कमाएको सम्पत्ति पत्नी विष्णुमैया पौड्यालका नाममा राखेको देखिएकोले बिगोबराबरको जफतका लागि निजलाई पनि प्रतिवादी बनाइएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।